३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

विशेष खबर

वैदेशिक रोजगारमा जानुअघि दिइने अभिमुखीकरण खारेज गर्न लागिएको भन्ने कुरा के हो ?

यस सम्बन्धमा निश्कर्षमा पुग्न अझै केही समय लाग्ने



काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि दिइँदै आएको पूर्वप्रस्थान तालिम (अभिमुखीकरण) खारेज हुने विषय उठिरहेको छ।

तालिम प्रदायक संस्थाहरूले तालिम नदिने तर अनधिकृत रूपमा प्रमाणपत्र बिक्री वितरण गर्ने घटना बढेका कारण सरकारले तालिम खारेज गर्न लागेको भन्ने विषय उठेको हो।

वैदेशिक रोजगारमा जानेहरूलाई यात्राको पूर्वतयारी, सूचना प्रविधि प्रयोग सम्भावित जोखिम न्यूननीकरण लगायत विषयमा जानकारी दिने उद्देश्यले यस्तो अभिमुखीकरण प्रदान गरिँदै आएको छ।

अभिमुखीकरणबाट दुर्घटना बीमा तथा कल्याणकारी कोषसम्बन्धी जानकारी, वैदेशिक रोजगारसँग सम्बद्ध निकायहरूको भूमिका, गन्तव्य मुलुकमा समस्या पर्दा सम्पर्क तथा समन्वय गर्ने निकाय लगायत विषयमा जानकारी दिइने व्यवस्था छ।

यस्तो अभिमुखीकरणपछि मात्रै श्रमिकले वैदेशिक रोजगारीमा जाने अनुमति पाउँछन्। तर अभिमुखीकरण तालिम सम्बन्धमा नियमन हुन नसक्दा सेवा प्रदायकहरूले कानुन विपरीत प्रमाणपत्र बिक्री वितरण गर्ने गरेको पाइएको उल्लेख गरिएको छ।

अभिमुखीकरण तालिमलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने सम्बन्धमा सबै सरोकारवाला निकायबीच छलफल भइरहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा। द्वारीका उप्रेतीले जानकारी दिए।

उनका अनुसार यस्तो अभिमुखीकरण तालिम पूरै खारेज नै गर्न लागिएको भने होइन।

यस्तो महत्वपूर्ण र संवेदनशील तालिम खारेज गर्ने भन्ने हुँदैन। तर यसलाई कसरी प्रभावकारी बनाउने भन्नेतर्फ सोच्नुपर्ने देखिएको छ, उनले भने।

उनका अनुसार अभिमुखीकरणको पाठ्यक्रमलाई बोर्ड तथा वैदेशिक रोजगारसँग सम्बन्धित निकायको वेबसाइटमा राखिने छलफल भइरहेको छ।

त्यस्तै, मोबाइल एप तथा युट्युबलगायत सामाजिक सञ्जालमार्फत् पनि अभिमुखीकरण दिन सकिने विषय उठिरहेको उनले बताए।

स्थानीय सरकार मार्फत नै अभिमुखीकरण तालिम प्रदान गर्ने व्यवस्था मिलाउने हो कि भन्ने कुरा पनि उठिरहेको छ,ु उनी भन्छन्, अहिले तालिम प्रदान गरिरहेका संस्थाहरूमाथि निगरानी बढाएर पनि यसलाई व्यवस्थित गर्ने कि भन्ने पनि छ। यसै गर्ने भन्ने निश्कर्षमा हामी पुगिसकेका छैनौं।

यस सम्बन्धमा निश्कर्षमा पुग्न अझै केही समय लाग्ने उनले बताए।

सरोकारवालाहरूले पनि अभिमुखीकरण प्रभावकारी हुन नसकेको प्रश्न उठाउँदै आएका छन्। यस्तो तालिम सामाजिक संस्थाले निःशुल्क रूपमा प्रदान गर्न सक्ने हुँदा सरकारले सामाजिक संस्थालाई जिम्मा दिनुपर्ने विषय पनि उठिरहेको छ।

वैदेशिक रोजगारमा जानुअघि दिइने अभिमुखीकरणमा एउटा कक्षामा बढीमा २५ जना प्रशिक्षार्थी राख्न सकिने व्यवस्था छ।

त्यस्तै, एउटा संस्थाले एकपटकमा बढीमा तीन वटा कक्षामा तालिम सञ्चालन गर्न सक्ने व्यवस्था छ। यस्तो तालिम देशगत समूह ९क्लस्टर० अनुसार सञ्चालन हुँदै आएको छ।

प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भएपछि संयोजकहरूबाट प्रमाणित गराई अनलाइन माध्यमबाट वैदेशिक रोजगार बोर्डको सचिवालय र वैदेशिक रोजगार विभागमा पठाउनु पर्ने व्यवस्था छ।

तालिम सञ्चालन अवधि दैनिक ६ घण्टाको दरले दुई दिन १२ घण्टाको हुनुपर्ने व्यवस्था छ। तर पछिल्लो समय तालिम प्रदायक संस्थाहरूले तालिम नै नदिई प्रमाणपत्र बिक्री गर्ने गरेका घटना बढेका छन्। यसमा नियमन हुन नसक्दा अनियमितता बढेको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ६ : १२ बजे