३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

स्वरोजगार

जम्काभेटको अचार गफले उद्यमी बनेका चार बुहारीः अचार उद्योगबाट अहिले मनग्य आम्दानी

सुरुमा १०/१० हजार रुपैयाँ उठाएका थिए



बैशाख २८, दाङ । पछिल्लो समय देशभर आर्थिक मन्दीका कारण व्यापार व्यवसाय अस्त व्यस्त बन्दै गएको छ । आर्थिक मन्दी संगै बैंक तथा वित्तिय संस्थाहरुले गरेको ब्याज बृद्धिका कारण सयौं व्यापारीहरु व्यवसायबाट पलायन भएका छन भने कति व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । तर दाङ तुलसीपुरका केही बुहारीहरुले भने अचार उद्योग नै सञ्चालन गरेर आन्दानी गर्न थालेका छन् । विगत एक वर्षदेखि तुलसीपुर ६ रजौरामा चारजना बुहारीहरु मिलेर समृद्ध बुहारी अचार उद्योग सञ्चालन गरेका हुन् । चार जनाले १०÷१० हजार रुपैयाँ उठाएर ४० हजार लगानीमा सञ्चालन गरेको अचार उद्योगबाट अहिले उनीहरु राम्रो आम्दानी पनि गर्दै आएका छन् ।

‘खाली समयमा दिदी बहिनीहरु संग भेट भएको बेला कुरा गर्दै जाँदा खाली गफ गरेर बस्नु भन्दा केही गरौ, समयको सदुपयोग गरौ, केही आम्दानी पनि होस् भन्ने सल्लाह भयो अनि अचार उद्योग सञ्चालन गरेका हौं तुलसीपुर ६ बरुवागाउँकी सारदा आचार्यले भनिन् । सारदा केही समय पहिले घोराहीमा बस्दै आएकी थिइन् । त्यही बस्ने क्रममा नारी सिप समाजमा आवद्ध भएर उनी घरेलु तथा साना उद्योग कार्यलयले सञ्चालन गरेको एकहप्ते अचार बनाउने तालिम लिने अवसर पाएकी थिइन् । त्यही सीपलाई अहिले उनी अचार उद्योगमा सदुपयोग गर्दै आएकी छिन् ।

 

तालिममा मिक्स अचार बनाउन सिकेकी उनले अहिले ६ थरिका अचार बनाउँदै आएको जानकारी दिइन् । अहिले आफुहरुले सिक्म अचारसहित अदुवारलसुन, हलेदो, हरियो खुर्सानी, अमलाको गुलियो अचार र मासुको अचार पनि बनाउँदै आएको बताइन् । उद्योगमा अचार बनाउनु भन्दा अचारलाई बजार व्यवस्थापन गर्न समस्या अलि समस्या रहेको उनले बताइन् । ‘पहिले त बजार व्यवस्थापनका लागि ग्राहकलाई विस्वास दिलाउनै समस्या छ, हामी आफै बजारमा गएर कुनै केमिकल मिसावट नगरी बनाएको अचार हो, स्थानीयले उत्पादन गरेको अचार राखिदिनुस् भनेपछि उहाँहरुले राखिदिनु भएको छ आचार्यले’ भनिन् । एक पटक आफुहरुबाट अचार लगेका ग्राहकहरुले फेरी पनि किन्न आउँने गरेको उनको भनाई छ । अहिले तुलसीपुरसहित घोराही, लमही, नेपालगञ्ज, बुटवल, नारायणघाट काठमाडौंसम्म अचार खपत हुँदै आएको आचार्यले जानकारी दिइन् ।

सोही उद्योगमा आवद्ध डुम्रीगाउँ निवासी ४५ वर्षीया शान्ता पौडेल पनि अचार उद्योगमा आवद्ध भएसंगै समयको सदुपयोग संगै आफ्नो सीपको प्रयोग गरेर आम्दानी गर्न थालेपछि दैनिक जिवनयापन गर्न सहज भएको बताईन् । शान्ताको बुवालाई अचार एकदमै मन पथ्र्यो । त्यही बेला बुवाको लागि उनी थरी थरिका अचार बनाउँथिन् । अहिले त्यही अचार बनाएर उनी आम्दानी गर्न थालेकी छिन् । अचार उद्योग सञ्चालन गर्नको लागि परिवारबाट समेत राम्रो साथ पाएको उनको भनाई छ ।

अचारमा तोरी, जिरा धनियाँ मुंग्रीलो, ज्वानो सुकेको र हरियो खुर्सानी मिसाएर अर्गानीक अचार बनाउँने भएकाले उक्त अचार एक वर्षसम्म राख्न मिल्ने बताइन् । पहिले बुटिकको काम समेत गरेर करिब डेढ वर्ष अमेरिका बसाइपछि उनी नेपाल फर्किएकी थिइन् । ‘नेपाल आएसंगै दिनभरी घरमा बस्दा छटपटि हुन्थ्यो पछि दिदी बहिनीहरु मिलेर अचार बनाम भनेर सुरु गरेका हौ, अहिले आम्दानी पनि भएको छ त्यही पैसाले घरखर्च चलाउँछौ, आफुलाई आवस्यक पर्ने सामान किन्छौ’ उनले भनिन् ।

बुहारी अचार उद्योगमा माछा मासू नखाने शाकाहारीहरुका लागि पनि शुद्ध अचार बनाईन्छ । बुहारी अचार उद्योगबाट एक पटक अचार लगेका ग्राहकहरु फेरी किन्न आउँने र सबै जनाले राम्रो प्रतिक्रिया दिने गरेको अर्का उद्यमी गोमा भण्डारी रजौरेले जानकारी दिइन् । दाङमा अचार उद्योग नभएकाले दिदी बहिनीहरु मिलेर अचार उद्योग सञ्चालन गरेको बताउँदै रजौरेले आफुहरुले अहिले नेपालभित्र मात्रै अचार पठाउने गरेको तर विदेशमा आफन्तीलाई पठाउनको लागि अचार लिन ग्राहकहरु उद्योगसम्म आउँने गरेको जानकारी दिइन् ।

बुहारी अचार उद्योगबाट बनाईएको अचार खाद्य तथा गुणस्तर विभागले गरेको ल्याब परिक्षणमा पहिलो पटकमै गुणस्तरिय भएको भन्दै अचार उद्योग सञ्चालनको अनुमति पाएकाले अझ बढी काम गर्न हौसला मिलेको उनीहरुको भनाई छ । बुहारी अचार उद्योगमा विभिन्न थरिका अचार संगै ग्राहकको मागअनुसार निख्ले बरी, सुत्केरी मसला पनि बनाउने गरेको बिना रजौरेले जानकारी दिइन् । उक्त अचार २ सयदेखि १२ सयसम्म पर्ने गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ९ : ०७ बजे