३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले लिए शपथ, तीन मन्त्री विना विभागीय



बुटवल । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।
सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले विना विभागीय मन्त्रीको हपथ लिने भएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री चौधरी र विना विभागीय मन्त्री मास्की दाङको प्रतिनिधि सभा ३ को क र ३ को खबाट प्रदेश सभा निर्वाचित हुन् ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : ५४ बजे