२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सगरमाथामा इतिहासकै धेरै आरोही



काठमाण्डौ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै धेरै आरोहीले अनुमति लिएका छन् । सगरमाथामा आज बुधवारसम्म चार सय ६३ जनाले आरोहण अनुमति लिएका र यो अहिलेसम्मकै धेरै रहेको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका संयोजक युवराज खतिवडाले जानकारी दिनुभयो ।

यसअघि सबैभन्दा धेरै सन् २०१९ मा तीन सय १५ जनाले आरोहण अनुमति लिएका थिए । कोरोना महामारीका कारण प्रभावित भएको पर्यटन व्यवसाय लयमा फर्कँदै गर्दा पर्वतारोहणसम्बन्धी व्यवसायले भने इतिहासकै ुरेकर्डु तोड्दै उत्साहित बनाएको खतिवडाले बताउनुभयो ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमतिबापत मात्रै ६५ करोड तीन लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । अनुमति लिएकामध्ये नेपालका १२ जना र बाँकी विदेशी नागरिक हुन् । सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ । यस्तै नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ ।

 

आधार शिविरमा पुग्दै आरोही

अनुमति लिएका आरोहीहरू सगरमाथालगायतका हिमालको आधार शिविरमा पुग्ने क्रम चलिरहेको छ । अन्नपूर्णलगायतका केही हिमालमा आरोहण सुरु भइसकेको छ भने विशेष आकर्षण र धेरै आरोही रहेको सगरमाथाको आधार शिविरमा आरोहीहरू आफूहरूलाई उचाइमा अनुकूल बनाउने प्रयास गर्न थालेका निर्देशक खतिवडाले बताउनुभयो । सगरमाथा आारहेणका लागि आरोहीहरू झन्डै एक महिना आधार शिविरमा बिताउँछन् । आधार शिविरमा रहँदा उनीहरू दोस्रो शिविरसम्म पुग्ने र फर्कने गरेर आफूलाई उचाइमा अनुकूल बनाउने प्रयास गर्दछन् । अहिले सगरमाथाको आधार शिविर रङ्गीचङ्गी टेन्टले भरिएको सुन्दर सहरजस्तै बनेको छ ।

सगरमाथा आधार शिविरमा सरकारको कार्यालय

यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले सगरमाथाको आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यसअघिका वर्षहरूमा सगरमाथामा विभिन्न गैरकानुनी क्रियाकलाप हुने गरेको तथा विभिन्न आरोही समूहबीच झगडासमेत हुने गरेको गुनासो आउने गरेकोमा त्यसलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय नै स्थापना गरेको विभागका निर्देशक युवराज खतिवडाले बताउनुभयो ।

सगरमाथामा अनुमति नलिएकाहरूले विभिन क्रियाकलाप गरेको तथा आरोहण नै नगरि नक्कली कागजात बनाएर आरोहण पूरा गरेको प्रमाणपत्र लिएकोसम्म घटनाहरू बाहिरिएपछि विभागले यस पटक कार्यालय नै स्थापना गरेको हो । यस्तै विभागले खटाएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगेको गुनासोको समेत समाधानका लागि कार्यालय स्थापना गरेको विभागले जनाएको छ ।

नेपालका हिमालमा एक हजारभन्दा बढी आरोही

यस वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि आजसम्म २४ वटा हिमालमा एक हजार ४६ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ७३ करोड ५४ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । सरकारले नेपालका चार सय २९ वटा हिमाल आरोहणका लागि खुला गरेको भए पनि यस पटक आरोहीले २४ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका छन् ।

तस्बिर स् सेभेन समिट ट्रेक्स

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : २८ बजे