२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बिस्का अर्थात् बिस्केट जात्रा आजदेखि, जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्याली



काठमाण्डाै – भक्तपुरमा आजदेखि बिस्का अर्थात् बिस्केट जात्रा सुरु हुँदैछ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर सुरु गरिन्छ ।

सूर्यमासअनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि परम्परागत तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा सुरु हुन्छ । प्यागोडा शैलीमा बनाइएको तीन तले भैरवनाथको रथ तानेर बिस्का जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । अहिले भैरवनाथको रथसँगै भद्रकालीको रथ सिंगार्ने काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

भैरवनाथको रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ । त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । यो कार्य सकिएपछि विधिवत् रुपमा रथ तानिन्छ । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते विधिवत् सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई तानेर पाँंचतले मन्दिर अगाडि पुर्याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।

बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नगरपालिका वडा नम्बर ५ मा रहेको योसिङखेलमा ५५ हात लामो लिंगो ठड्याइन्छ । यो लिङ्गो सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ । यस्तै, बिस्का जात्रा शान्तिपूर्ण बनाल्उन सद्भाव र्याली गरिएको छ ।

हिजो दत्तात्रय इनाय टोल र दूधपाटीबाट एकैसाथ सुरु भएको र्याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सभामा परिणत भएको थियो । ‘बिस्केट जात्रा शान्तिपूर्ण रुपमा मनाऔँ’ भन्ने नाराका साथ भएको र्यालीमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका सयौँ व्यक्ति सहभागी थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ०२ बजे