२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

हिलवर्टका गुरुहरु सम्मानित, ४ जनालाई प्रतिव्यक्ति २५ हजार राशीको पुरस्कार



वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलका गुरुहरु सम्मानित भएका छन् । विद्यार्थीको भविष्यप्रति जिम्मेवार रही उत्कृष्ट ढंगबाट अध्ययन अध्यापन गराएको योगदानको कदर गर्दै गुरुहरुलाई शुक्रबार आयोजित शैक्षिक सत्र २०७९ सालको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण समारोहको अवसरमा सम्मान पत्र, खादा र मायाको चिनोले सम्मान गरिएको हो ।

तीमध्ये ४ जनालाई सर्वोत्कृष्ट शिक्षकको रुपमा नगदसहित सम्मान गरिएको छ । विद्यालयको जगको रुपमा रहेको प्रिपाइमरी तहमा अध्यापन गर्ने ३ जना (जमुना केसी, मेनुका नेपाल, कल्पना गिरी) र निमावि तहबाट १ जना ( सोनम बहादुर पुन) लाई २५ २५ हजार रुपैयाँ नगद र सम्मान पत्रले सम्मानित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालले कार्यक्रममा बताए ।

नीजि विद्यालय केवल नाफामुखी संस्था मात्र होइनन् काम गर्ने शिक्षकको पनि कदर गर्छन् भन्ने कुराको प्रमाणस्वरुप हिलवर्टले यो सम्मान कार्यक्रम सुरु गरेको अध्यक्ष खनालले बताए । आगामी बर्षमा पनि यो कार्यक्रम जोडिने भन्दै सोही अनुसार शिक्षण सिकाई क्रियाकलापमा लाग्ने उनले शिक्षकहरुलाई अनुरोध गरे ।
विद्यालयबाट एक्कासी यो पुरस्कार पाउँदा आफूहरु आश्चर्यमा परेको पुरस्कृत गुरुहरु बताउँछन् ।

कार्यक्रमको अवसरमा पिजीदेखि कक्षा १ सम्मको परीक्षाफल प्रकाशन गरी विभिन्न विधा (कक्षागतरुपमा उत्कृष्ट, स्टुडेन्ट अफ दि इयर, फुल हाजिरी, पूर्ण सरसफाई, अनुशाषन लगायत) का पुरस्कार वितरण गरिएको थियो । कक्षा उत्तिर्ण गरेको सबै विद्यार्थीलाई विद्यालयले मेडल प्रदान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिमबहादुर जिसी पुरस्कार वितरण गर्दै गफमा नभएर कानुनी रुपमै हिलवर्ट जिल्लाकै उत्कृष्ट नीजि विद्यालय रहेको बताए । हिलवर्टका हरेक गतिविधिबाट आफू पुलकित भएको बताउँदै उनले अहिले नगरका सामुदायिक विद्यालय पनि उत्तिकै राम्रा भएको उनको दावी छ ।

एकेडेमिक डाइरेक्टर तेजप्रसाद आचार्यको संचालन र सह प्राचार्य कुशल पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेल, पत्रकार चन्द्रकान्त न्यौपाने, योगाचार्य कमल पौड्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

शनिबार कक्षा २ देखि ९ सम्मको पुरस्कार वितरण कार्यक्रम रहेको विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले हाम्रो रोजगारीलाई जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ०५ बजे