२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

कपिलवस्तु सामुदायिक अस्पतालमा समिति र कर्मचारीबिच किन बढ्यो विवाद ?



वाणगंगा । कपिलवस्तु सामुदायिक अस्पतालले केहीदिन अघि बिभिन्न ५ पदमा कर्मचारी मागको सुचना निकाल्यो । अस्पतालले जारी गरेको सुचना अनुसार बिएस्सी नर्स, रेडियोग्राफर, फार्मेसी सहायक पदमा एकएक जना र स्टाफ नसर्मा २ जना गरी ५ जना कर्मचारी माग थियो ।

अस्पतालको सेवाप्रवाह थप चुस्तदुरुस्त र विश्वासिलो बनाउने रणनीति अनुसार संचालक समिति अहिले केही दक्ष कर्मचारी बाहिरबाट माग गर्ने र आन्तरिक कर्मचारीलाई पनि प्रतिस्पर्धा गराएरै राख्ने तयारीमा छ ।

अस्पतालमा  ८ ९ बर्षअघिदेखि काम गरेका पुराना कर्मचारी पनि छन् । तर उनीहरुसंग कुनै सल्लाह नगरी, कर्मचारी मागको सुचना निकाल्ने, पुराना कर्मचारी हटाउने तयारीमा समिति रहेको थाहा पाएपछि कर्मचारी शसंंकित भए ।

मुख्य रुपमा धेरै बर्षदेखि काम गरिरहेका कर्मचारीलाई अस्पतालका यी गतिविधिले त्रसित बनायो । त्यसपछि पुराना कर्मचारीले दबाबस्वरुप आइतबार अस्पतालमा ताला लगाउने निधो पनि गरेका थिए । त्यही अनुसार  उनीहरुले पत्रकार पनि गुहारे ।

कर्मचारीको यो निर्णयपछि आफ्नो पूर्ववत् निर्णयमा संचालक समिति पछि हट्यो र अहिले केहीछिनको लागि असन्तुष्टि थामथुम भएको छ । श्रोतका अनुसार कर्मचारी र अस्पताल संचालक समितिविच तत्काल पुराना कर्मचारी नहटाउने अल्पकालिन सहमति बनेपछि विवाद समाधान भएको छ ।

यस क्षेत्रकै पहिलो सामुदायिक अस्पतालमा अहिले ठुलो संख्यामा कर्मचारी छन् । श्रोतका अनुसार नयाँ पुराना गरी अहिले ३५ जनाभन्दा बढी कर्मचारीले काम गरिरहेका छन् ।

। तर त्यसमध्ये मुख्य समस्या अनमी पदमा छ । ३५ कर्मचारीमध्ये अनमी मात्रै ९ जना छन् । अस्पताल श्रोतको जनाउ छ कि ५ ६ जना अनमी भए काम पुग्छ । त्यसो हुँदा निक्लनु परेमा अनमी पदमा रहेका कर्मचारी निक्लनु पर्ने देखिन्छ ।

यस विषयमा बुझ्दा अस्पतालकै एक जना अनमी कर्मचारी भन्छिन् ‘हामीसंग सल्लाह नै नगरी उहाँहरुले अरु कर्मचारी ल्याउने कुरा गर्नु भएछ । यहाँ ७ ८ बर्षदेखि काम गरेका कर्मचारी छौँ । आजसम्म काम गरेर हामी कहाँ जाने ? एक्कासी हामीलाई निकाल्ने निर्णय समितिले गर्दा हामीलाई नराम्रो लाग्दैन त ?’

समितिको यो निर्णयपछि अस्पतालका सबै कर्मचारी असन्तुष्ट रहेको बताउँदै उनले ताला लगाउने स्थितिसम्म आफूहरु पुगेको बताइन् ।

उनले थपिन् ‘हामीले ताला लगाएर काम बन्द गर्ने भनेका थियौँ । तर अहिले संचालक समितिले हाम्रो कुरा सुनेको छ । तत्काल उहाँहरुले आन्तरिक कर्मचारी खटनपटन नगराउने कुरा गर्नुभएको छ । हामी काममा फर्किएका छौँ । अहिलेको लागि हाम्रो कुरा मिलेको छ ।’भोलिका दिनमा फेरि यस्तै निर्णयमा संचालक समिति पुगेको खण्डमा पत्रकार सम्मेलन गरेरै सबै कुरा बाहिर ल्याउने उनले हाम्रो रोजगारीसंग बताइन् ।

यस विषयमा अस्पतालका महासचिव दिनेश क्षेत्रीसंग कुरा बुझ्दा भने कुरा  अर्कै  छ । उनले कर्मचारी सिधै निकाल्ने निर्णय आफूहरुको नरहेको भन्दै उनले प्रतिस्पर्धा गराउन खोजेको दावी गरे ।

महासचिव क्षेत्री भन्छन् ‘अस्पतालमा कर्मचारी धेरै भए । केही कर्मचारी हटाउनु पर्ने छ । त्यसको लागि एउटा विधि बनाउन लागिएको मात्रै हो । यसलाई कर्मचारीले गलत बुझेछन् । उनीहरुले निकाल्न लागेको बुझेछन् । तर हामीले बाहिरि जनशक्तिसंग प्रतिस्पर्धा गराएर कर्मचारी राखौँ भनेको मात्रै हो । अरु केही होइन ।’

उनले बढी समस्या अनमी पदमै रहेको बताए । पुराना कर्मचारीसंग सल्लाहा नगरी नयाँ कर्मचारी राख्न थाल्नु भएको भन्ने कर्मचारीको आरोप छ नि ? भन्ने प्रश्नमा उनले भने ‘त्यसो होइन । अस्पतालका इन्चार्जसंग सल्लाह गरेका थियौँ । सल्लाहा नै नभएको कुरा सत्य होइन ।’

हिजोदेखि नै अस्पतालमा विधि र सिस्टम नहुँदा अहिले समस्या आएको क्षेत्रीको भनाई छ । उनले अब अस्पताललाई समुदायकै उत्कृष्ट बनाउने अनुरुप नयाँ नयाँ सुविधा थप्न लागेको बताए । ‘यी सबै काम गर्न पनि कर्मचारी थप्ने, अदलबदल गर्ने काम गर्नै पर्ने स्थितिमा अस्पताल रहेको उनी बताउँछन् ।
नयाँ कर्मचारी माग गर्ने, प्रतिस्पर्धाबाट आन्तरिक खटनपटन गराउने काममा संचालक समिति दृढ छ । यस्तो हुँदा दक्ष कर्मचारी बस्छन्, महासचिव क्षेत्री भन्छन् ‘उनीहरु पनि प्रतिस्पर्धामा आउनुपर्दछ । पुराना हौँ भनेर कर्मचारी प्रतिस्पर्धा गर्न डराउनु हुँदैन ।’

उनले अब सबै कर्मचारीसंग समितिले एकपटक सल्लाह गर्ने जिकिर गरे । नयाँ कर्मचारीको मागको सुचना भने कायमै रहेको उनले बताए । अहिलेको सामान्य विवाद भएकाले अतिरञ्जित गर्न नहुने उनको भनाई छ ।

कुनै समय आम समुदायको विश्वास जितेको अस्पतालमा पछिल्ला गतिविधिले भने बिभिन्न प्रश्न गर्ने बनाएको सरोकारवाला बताउँछन् । अस्पतालमा पछिल्लो समय राजनीति बढ्न थालेको भन्दै अस्पतालजस्तो अति संवेदनशिल क्षेत्रमा त्यसो गर्न नहुने उनीहरुको सुझाव छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : ३५ बजे