२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

मुख्य खबर

‘टुरिस्ट गाइड’ मा ठूलो संख्यामा रोजगारी खुल्दै, यस्तो छ कारण



काठमाण्डौ । विदेशी पर्यटकहरुले आजदेखि नेपालमा एक्लै पदयात्रा गर्न नपाउने भएका छन् । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो ।

बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली [टिम्स] का केही प्रावधानहरू परिमार्जन गरेको छ ।

ट्रेकिङका लागि एक्लै हिँड्ने गरेका विदेशी पर्यटक पछिल्लो समय बेपत्ता हुने वा मृत अवस्थामा फेला पर्ने गरेपछि सरकारले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो ।

अब नेपालमा गन्तव्यमा यात्रा गर्दा साथमा नेपाली पथप्रदर्शक अनिवार्य हुनुपर्ने पर्यटन विभागका निर्देशक मणिराज लामिछानेले बताए । पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना पथप्रदर्शक पदयात्रामा जान नपाउने व्यवस्था गरेको उनको भनाई छ ।

एकल यात्रा अनुमति बन्द गर्दा पर्यटकको कुनै पनि आपत्कालीन अवस्थामा उद्धार गर्न सहयोग पुग्ने तथा पथप्रदर्शकका लागि ठूलो संख्यामा रोजगारी सृजना हुने बोर्डले जनाएको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : ४९ बजे