४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले उपाध्यक्ष पौडेलले दिए भीम रावललाई निकाल्ने चेतावनी



धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाएका छन् ।

नेता रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले, रावलले आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने बताए ।

शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताए ।
‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन ।

उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’

त्यो उचित भनेको पार्टीबाट निष्कासन रहेको हुन सक्ने नेताहरु बताउँछन् । रावल यसअघि पनि पटकपटक कारबाहीमा पर्दै आएका नेता हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : ४५ बजे