२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

रविको त्यो एक महिनाः जतिबेला सीमाको अवैध कारोबार झरेको थियो शून्यमा



विराटनगर। पुस ११ गते गृहमन्त्री बनेर माघ १३ गते त्यस पदबाट राजीनामा दिएका रवि लामिछानेका धेरै विवादहरू छन्। तर, सीमाक्षेत्रका व्यवसायीको अनुभव के छ भने लामिछाने जति विवादास्पद भए पनि १ महिना २ दिन गृहमन्त्री हुँदा उनले सिमानाबाट गरिने अवैध कारोबारलाई लगभग शून्य बनाएका थिए।

उनको बहिर्गमनसँगै सीमा क्षेत्रको तस्करी फेरि बेस्सरी मौलाएको छ। अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालय राखेका कारण मन्त्रालयको दैनिक कार्यसम्पादन प्रभावकारी छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरूले अवैध आयातलाई आँखा चिम्लिदिएका छन्। यसले गर्दा सीमा क्षेत्रको अनधिकृत व्यवसाय फस्टाएको हो।

गत पुस १२ गते उखुको क्रसिङ सुरु गरेको सुनसरीको इस्टर्न सुगर मिलले प्रति किलो चिनीको बिक्री मूल्य भ्याटबाहेक किलोको ७३ देखि ७४ रुपैयाँ निर्धारण गरेको छ।

कुनै कारोबारीले इस्टर्नमा प्रति किलो ७३ रुपैयाँमा चिनी खरिद गर्‍यो भने भ्याट ९ रुपैयाँ ४९ पैसा जोडिँदा त्यसको मूल्य ८२ रुपैयाँ ४९ पैसा हुन आउँछ। उक्त चिनी विराटनगरसम्म ल्याउँदा प्रति किलो ५० पैसा ढुवानी खर्च लाग्छ। यसरी विराटनगरस्थित चिनीको स्टकिस्ट वा डिलरलाई आफ्नो गोदामसम्म चिनी ल्याउँदा प्रति किलो ८३ रुपैयाँ खर्च लागिसकेको हुन्छ।

तर, विराटनगरका किराना पसलले प्रति किलो ७८ देखि ८० रुपैयाँमा चिनी बिक्री गरिरहेका छन्। सीमापारिबाट अवैध रूपमा आयात गरिएको चिनी पसलेहरूले सस्तोमा बिक्री गरेका हुन्।

विराटनगरको सीमापारि जोगबनीका किराना पसलहरूमा चिनीको मूल्य किलोको ६५ रुपैयाँ छ। तर, चिनीको अवैध ओसारपसार गर्नेले सीमापारि किलोको ६० रुपैयाँमै चिनी खरिद गर्न पाउँछन्। उनीहरूले सो चिनी नेपालका पसलेहरूलाई किलोको ७० रुपैयाँमा बिक्री गर्छन्। र, पसलेहरू ७८ देखि ८० को मूल्य लिइरहेका छन्।

चिनी नबिक्दा गोदाम थप्यौं

इस्टर्न सुगर मिलका सञ्चालक विशाल अग्रवालका अनुसार पुस १२ गतेदेखि क्रसिङ सुरु गरेको मिलले दैनिक २ हजार टन चिनी उत्पादन गरिरहेको छ। क्रसिङ चैत १४ सम्म चल्नेछ। तर, चिनीको बिक्री भने दैनिक १०० देखि २०० क्‍विन्टल मात्र छ।

सञ्चालक अग्रवालले भने, ‘चिनीको बिक्री नहुँदा उद्योग परिसरमा भएका सबै गोदाम भरिएका छन्। उद्योगका गोदामले नपुगेर विराटनगरमा २ वटा ठुला गोदाम भाडामा लिनुपरेको छ। कारखानादेखि विराटनगरसम्मको ढुवानी र लोडअनलोडको खर्च पनि अब चिनीमा जोडिने भएको छ। चिनीको लागत बढेको छ।’

उद्योगी विशालले आर्थिक मन्दीका कारण सुस्ताएको चिनीको कारोबारलाई प्रभावित बनाउन अनधिकृत व्यापारले झन् ठुलो भूमिका खेलेको धारणा प्रकट गरे।

उनको भनाइ छ, ‘कच्चा सामग्रीका रूपमा चिनी आवश्यक पर्ने जुस, बिस्कुट, कन्फेक्सनरी सबै उद्योगको उत्पादन ५० प्रतिशतले घटेको छ। चिनीको बिक्रीले यसलाई असर पुर्‍याइरहेको थियो। त्यसमा तस्करीको चिनी ओइरिन थालेपछि बिक्री झन् घटेको हो।’

इस्टर्नका महाप्रबन्धक पीके झाका अनुसार इस्टर्न सुगर मिलको नजिकै पर्ने साहेबगन्ज नाकाबाट दिनको ५ ट्रकभन्दा बढी चिनी तस्करी भएको सजिलै देख्न सकिन्छ। रातिको २ बजेदेखि नाकाबाट लाइन सुरु हुन्छ। यो लाइन साँझ ६ बजेसम्म चल्छ। ट्रयाक्टर, ट्रक, मोटरसाइकल, साइकल सबैजसो सवारीसाधनबाट चिनीको तस्करी हुन्छ।

उनले भने, ‘यस्तै कारोबार सबै नाकाबाट होला। त्यसैले त हाम्रो चिनी बिक्री भइरहेको छैन।’

सुदूरपश्चिममा पनि उही हालत

महेन्द्रनगरको भाग्येश्वर सुगर मिलका सञ्चालक टेकप्रसाद बोगटीले आफ्नो उद्योगबाट दैनिक २१० सय क्‍विन्टल चिनी बिक्री भइरहेको जानकारी दिए।

उद्योगी बोगटीले सुनाए, ‘माघ लागेपछि हाम्रो विक्री बढेको थियो। संक्रान्तिदेखि माघ १५ सम्म हामीले दैनिक १ हजार क्‍विन्टल भन्दा बढी चिनी विक्री गर्यौं। माघ १५ पछि फेरि बिक्री सुस्ताउँदै गयो। अहिले दिनको १ देखि गाडी अर्थात् २१० देखि ४२० क्‍विन्टल हुन्छ।’

बोगटीले तत्कालीन गृहमन्त्रीले अत्यन्त चाँडो निर्णय लिएर सात दिनमै परिणाम देखाइदिएको उल्लेख गर्दै लामिछानेको बहिर्गमनसँगै नेपालमा उत्पादित चिनीको दशा सुरु भएको प्रतिक्रिया व्यक्त गरे।

उनले अनधिकृत रूपमा ल्याइएको चिनीले सीमा क्षेत्रका गोदाम भरिएको दाबी गर्दै बिस्कुट, जुस र कन्फेक्सनरीका उद्योगमा यस्तै मन्दी भइरहे अर्को सिजनसम्म नेपालका सुगर मिलको उद्योगको चिनी बिक्री नभएर थुप्रिरहने चिन्ता प्रकट गरे।

उनको कथन थियो, ‘चिनीको तस्करीमा न भ्याट लाग्छ, न त अरू कुनै कर तिर्नुपर्छ। यो चिनीसित हामी प्रतिस्पर्धा गर्न सक्दैनौं।’

मोरङ व्यापार संघका पूर्व उपाध्यक्ष एवं विराटनगरमा चिनीका एक अधिकृत बिक्रेता देवकीनन्दन अग्रवालले १० दिनदेखि आफ्नो गोदामबाट १ बोरा पनि चिनी बिक्री नभएको बताए।

व्यवसायी अग्रवालले भने, ‘अब कारखानाबाट थप चिनी नमगाउने सोचमा पुगेको छु। महिनाको १ ट्रक चिनी बिक्री हुन पनि धौ–धौ छ।’

चिनीका अर्का ठुला कारोबारी जीवन रिजालले महिनाको कम्तीमा ३० ट्रक चिनीको बिक्री गर्दै आएका थिए।

रिजालले भने, ‘माघ १५ पछि चिनीको बिक्री खस्कन थाल्यो। फागुनमा हामीले जम्मा ८ ट्रकको कारोबार गरेछौं। तस्करीको चिनी बजारमा छ्याप्छ्याप्ती भएपछि हाम्रो बिक्री नराम्ररी खस्किएको छ।’

सामान्यतया एक ट्रक चिनीमा ४२० वटा बोरा हुन्छन्। यसको तौल २१ टन हुन्छ।

विराटनगरका व्यवसायी जितु बोथडाले गृहमन्त्री नभएको मौका पारेर सीमा क्षेत्रका अनधिकृत व्यवसायीले आगामी असार–साउनसम्मलाई पुग्नेगरी चिनीको अवैध आयात गरिसकेको दाबी गरे।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ११ बजे