३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

स्व-रोजगार

फेसन टेलरका अली भन्छन् ‘ग्राहकले मेरो काम र मुस्कान मन पराउनु हुन्छ’

मुम्बईमा अजय देवन र सुनिल सेट्ठीको कोट सिलाउँथे



वाणगंगा । २ बर्षे कोरोनाको कहरपछि अहिले विश्व आर्थिक मन्दीले चपेटिएको छ । अमेरिकाका दुई चर्चित बैँक बन्द भएका छन् भने स्विटजरल्याण्डको एक प्रमुख बैँक पनि बन्द हुने अवस्थामा गएर विक्री हुँदै छ । यसैगरी आर्थिक मन्दीको प्रभाव साना ठुला सबै देशमा परिरहेको छ ।

नेपाल पनि यो समस्याबाट अछुतो छैन । राज्य कोषमा मुलुक चलाउने पैसा छैन । डलर संजित दिनप्रतिदिन घटिरहेको छ । बैँकहरुले क्रण प्रवाह गर्न सकेका छैनन् । चलिरहेका उद्योगधन्दा, कलकारखाना, ब्यापारको अवस्था दयनीय छ । कति त बन्द भइसके ।

यस्तो आर्थिक संकटकोबीचमा भने कपिलवस्तुको वाणगंगा नगरपालिकामा टेलरिङ व्यवसाय गर्दै आइरहेका मोहम्मद अली कत्ति निरास छैनन् । उनको ब्यापारको ग्राफ घटेको छैन । नगरपालिकाको केन्द्र चार नम्बरमा कोरोनाको कहरपछि कति पसल र व्यवसाय बन्द भए । कतिपय बन्द हुने अवस्थामा छन् । चलेकाहरुले अब सकिन्न, डुवियो भन्दै निरास भएर बसेको विद्यमान अवस्था छ । तर फेसन टेलरका संचालक महोम्मद अली भने आफ्नो व्यवसायमा कुनै समस्या नआएको सुनाउँछन् ।

उमेरले ३८ बर्ष नाघेका अलीले सिलाई कटाई गर्न थालेको २५ बर्ष भइसक्यो । सुरुमा उनले भारतको मुम्बईमा सिलाई कटाई गरे । त्यहीँ नै उनको सिपले निखारता पायो । स्वरोजगारको बारेमा कुराकानी गर्दैगर्दा हाम्रो रोजगारीसंग उनले भने ‘बम्बईमा काम गर्दा मैले भारतीय चर्चित अभिनेता सुनिल सेट्ठी, अजय देवन लगायतको कोट, पाइन्ट, सर्ट सिलाएको अनुभव छ । उहाँहरुको साथमा त्यहाँ अरु मोडल र कलाकारको सिलाईको काम पनि गरियो । कामबाट धेरै खुसी पनि हुन्थे ।’

चार नम्बर पसल खोल्नु अघि ग्ल्यामर टेलर्स बुटवलमा काम गरेको सुनाउँदै उनले थपे ‘आफू निखारिएपछि आफैलाई आफ्नो ब्यवसाय गर्न मन लाग्यो । केही बर्षको मुम्बई बसाईपछि म रुपन्देहीको बुटवल आएर काम गरेँ । त्यहाँ पनि हजारौँ ग्राहकलाई सन्तुष्ट पारेँ । बुटवल पनि पत्रकार, कलाकार, नेता, कर्मचारी, स्कुल कलेजका विद्यार्थीका कपडा सिलाएँ । फाट्टफुट्टबाहेक कम्प्लेन आउँदैनथ्यो ।’

चार नम्बर आएर आफ्नै व्यवसाय गर्न थालेको १० बर्ष भएको उनको भनाई छ । यही ब्यवसायबाट उनी आत्मनिर्भर छन् । ३ जना छोरा, १ जना छोरी र आफूहरु दुईजनाको दैनिकी यही पेसाले धानिएको उनी सुनाउँछन् । उनले भने ‘मलाई कहिल्यै पनि विदेशमा जाऔँ लागेन । आफ्नै देशमा केही गर्नुपर्छ भनेर भौतारिएँ । धेरै दुख पनि पाएँ । तर निरन्तर मिहिनेत गर्दा अहिले सहज जीवनयापन गर्न सकेको छु । छोराछोरीले बोर्डिङ स्कुलमा पढ्छन् ।’

उनले व्यवसायमा श्रीमतीको दरिलो साथ पाएको सुनाए । अलीको टेलरमा लेडिज जेन्स दुवै सिलाई कटिङ हुन्छ । श्रीमतीले लेजिज टेलरिङको काम हेर्छिन् । उनी कटिङ मास्टरको काम गर्छन् ।

अली आफू मात्र स्वरोजगार भएका छैनन् । १२ देखि १५ जनालाई रोजगारी दिन पनि सफल भएका छन् । त्यहाँ काम गर्नेले पीस सिलाईको हिसावले पारिश्रमिक पाउँछन् । विहेको सिजनमा त उनीहरुले ६० पीस सम्म पनि कपडा सिलाएको अलिले बताए ।

चार नम्बरमा दर्जन बढी सिलाउने ठाउँ भए तापनि उनको व्यवसायमा कुनै कमि आएको छैन । धेरै लगानी गरेर ठुला ठुला पसल खुले पनि आफूहरुलाई कुनै समस्या नभएको उनीहरुको भनाई छ । ‘श्रीमानको कामलाई धेरै मन पराउँछन् । उहाँको कटाई धेरैलाई मन पर्छ । कोरोनादेखि हामीलाई त्यति धेरै समस्या भएको छैन । उनले हाँस्दै थपिन् श्रीमानको काम त मन पराउँछन् पराउँछन् उनको हाँसो र बोली धेरै ग्राहकलाई मन पर्दछ,’श्रीमती सहाबुन निसा भन्छिन् ।

व्यवसायमा प्रतिस्पर्धा भए पनि आफूले इमान्दारपूर्वक काम गर्ने हो भने कुनै समस्या नहुने अलिको अनुभव छ । अलिले भने ‘मेरो कसैसंग प्रतिस्पर्धा पनि छैन । पेशामा केही चुनौति भएजस्तो पनि लाग्दैन । सजिलै छ । मलाई समस्या छैन । ग्राहक दिनप्रतिदिन बढिरहेकै छन् । धेरैको रोजाई अहिले फेसन टेलर्स बनेको छ ।’

सिलाईमा कटिङको पक्ष सबैभन्दा महत्वपूर्ण भएको उनको अनुभव छ । ‘कटिङ विग्रे सिलाई बिग्रन्छ । सकेसम्म कुनै पनि ग्राहकको कपडाको कटिङको काम म आफै गर्छु । अरु कालिगढलाई दिँदैन । म नभएको समयमा मात्र अरुले गर्छन् । तर पनि मसंग भएका सबै कालिगढ सिपालु छन् । मभन्दा कम छैनन् । काम विग्रन’, उनी भन्छन् ।

हिजोको जागिरे जीवनभन्दा आज स्वरोजगार भएर केही ब्यक्तिलाई रोजगार दिन सकेकोमा अलि खुसी छन् । अब आफ्नो पसललाई स्तरोन्नति गर्नतर्फ आफू लागेको उनले बताए । समय र ग्राहकको माग पनि अलि ब्यवस्थित पसल होओस् भन्ने रहेकाले आधुनिक पसल बनाउने योजनामा रहेको उनले हाम्रो रोजगारीलाई बताए ।

श्रीमती सहाबुन निशा पनि श्रीमान्–श्रीमती मिलेर काम गरे जस्तोसुकै सफलता हासिल गर्ने बताउँछिन् । उनको भनाई छ ‘अचेल धेरैले सानो काम भयो भने गर्दैनन् । काम सानो ठुलो हुन्न । काम नगरेकै कारण परिवारमा कल झगडा हुन्छ । सबै अल्छी हुन्छन् । काम गर्न खोज्दैनन् । अनि कहाँबाट भनेको कुरा पाइन्छ ? हामी बराबर काम गछौँ । मैले उनको दुख बुझ्छु । उनले मेरो बुझ्छन् र आज सफल भएका छौँ ।’

यसरी कामलाई सानो नमान्ने र निरन्तर मिहिनेत गर्ने हो भने स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ र कठिन घडीमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने कुराको प्रमाण तिनै अली दम्पति बनेका छन् ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ३ : १० बजे