४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शान्ति सुरक्षाका सबै काम प्रहरीले गरे हुन्थ्यो भन्नु हुँदैनः इन्सपेक्टर जोशी



कपिलवस्तु । इलाका प्रहरी कार्यालय वाणगंगा २ पिपराका प्रहरी निरीक्षक (इन्सपेक्टर) कोशिस बाबु जोशीले समाजमा शान्ति सुरक्षा कायम गर्नमा सबैको उत्तिकै दायित्व रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाण्डौँबाट भर्खर पिपरामा सरुवा भई आएका प्रहरी निरीक्षक जोशीले प्रहरी र समुदाय मिलेर काम गर्न सके मात्र समाजमा शान्ति सुरक्षा कायम हुने बताएका हुन् ।

मंगलबार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक जोशीले समाजका मुख्य समस्यामा केन्द्रित रहेर मिसनमा काम गर्ने दावी गरे । पत्रकारहरुले यस इलाका र जिल्लाका मुख्य समस्याका बारेमा जानकारी दिँदै नदीजन्य पदार्थको दोहन, काठ तस्करी, लागु पदार्थ दुव्र्यसनी नियन्त्रणलाई प्राथमिकतामा राखी निर्मम भएर लाग्न सुझाव दिएका थिए ।

कार्यक्रममा धेरै नबोलेका उनले भने ‘हाम्रो एउटा मुख्य जिम्मेवारी छ शान्ति सुरक्षा कायम गर्नु, यहाँ हामी केन्द्रित हुन्छौँ । लागु पदार्थ दुव्र्यसनी रोक्नु हाम्रो प्रमुख कार्य हो । तर अरु बिषयमा भने समुदायकै सहयोग चाहिन्छ । समुदायबाट जति सुचना प्राप्त हुन्छ । त्यति काम गर्न सजिलो हुन्छ । छाडा पशु चौपाय नियन्त्रण, नदीजन्य पदार्थ र काठको तस्करी नियन्त्रणमा समुदायकै साथ चाहिन्छ ।’

‘प्रहरी नै बिभिन्न प्रलोभनमा फसेर ठिक ढंगबाट काम हुन नसकेको पत्रकारको जिज्ञासामा उनले थपे ‘मेरा मातहतका प्रहरीको जिम्मेवारी म लिन्छु । गल्ती गर्नेलाई सजाय र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने काम कार्यालयबाट हुनेछ । मातहतका प्रहरीले बदमासी गरे कारबाही हुन्छ । अरु विषयमा जनता र पत्रकारले सहयोग गर्नुहोला । मिलेर केही राम्रो काम गर्न सकिन्छ ।’

‘जनताले दिने सूचना भने गोप्य रहन्छ । समाजलाई गलत दिशामा लैजान अपराध कर्मका सुचना दिन तपाईहरुले पनि सहयोग गर्नुहोला । अपराध अनुसन्धानमा प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहुन अनुरोध छ’, उनले भने ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष भेषराज पाण्डे, निवर्तमान अध्यक्ष र उपाध्यक्ष डिलाराम भुसाल, पार्वती पाण्डे, हाम्रो रोजगारी डट कमका प्रधान समपादक चन्द्रकान्त न्यौपाने, पत्रकार बाबुराम रायमाझी, भुपाल थापा, हरि घिमिरे, हरि आचार्य लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १ : ४१ बजे