२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

तोलामा ७ सयले घट्यो सुनको मुल्य, आजको मुल्य कति ?



काठमाडौं। साताको प्रारम्भमा सर्वाधिक उच्च मूल्यको रेकर्ड बनाएको सुन सोमबार तोलामा ७ सय रुपैयाँ घटेको छ। दोस्रो दिन कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार कायम मूल्य पनि निकै उच्च हो। गत वर्षको बढोत्तरीमा सुनको भाउ १ लाख ७ हजार ५ सयबाट माथि उक्लिएको थिएन। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनचाँदीको भाउ घटेर कारोबार भए पनि घटबढ अस्थिर छ।

गत शुक्रबारका तुलनामा २ हजार ९ सय रुपैयाँले बढ्दै साताको पहिलो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो। जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँ छ। आइतबार ३५ रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनप्रति लगानीकर्ताको आकर्षण बढ्दा मूल्य पुनः उकालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १९८८।११ डलर रहेको सुन सोमबार घट्दै १९७५ डलरमा आइपुगेको छ। चाँदी पनि २२।६ डलरबाट घटेर २०।३२ डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : ०४ बजे