४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्ववियु चुनावः सिद्धार्थ क्याम्पसमा संगठनको सभामा कार्यकर्तामात्रै !



कपिलवस्तु । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावले गर्दा अहिले देशभरका क्याम्पसमा चहलपहल बढ्दो छ । कपिलवस्तका क्याम्पसमा पनि चुनावी सरगर्मी बढिरहेको छ । यसैसन्दर्भमा जिल्लाको सबैभन्दा ठुलो क्याम्पस सिद्धार्थ क्याम्पस वाणगंगामा हुने चुनावलाई सबैले ध्यानपूर्वक हेरेका छन् । यहाँ यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु, नेविसंघ र संयुक्त प्यानल चुनावी मैदानमा छन् । अनेरास्ववियुबाट अञ्जित खनाल, नेविसंघबाट नील कमल, संयुक्त प्यानल ( माओवादी केन्द , नेकपा, नेकपा एकिकृत समाजबादी) बाट विज्ञान क्षेत्रीले प्यानल नै बनाएर सभापतिमा उम्मेदवारी दिएका छन् ।

आज मधयराति १२ बजेबाट मौनअवधि सुरु हुन लाग्दा उनीहरुको प्रचार प्रसार अन्तिम चरणमा छन् । विद्यार्थी नेताले दलका नेता नै बोलाएर मत आफ्नो पक्षमा पार्न अहिले घरदैलोदेखि बिभिन्न कार्यक्रम गरिरहेका छन् । क्याम्पस प्रशासनले मौन अवधि लागिसकेकाले भोलिबाट विदा गरेको छ ।

बुधबार क्याम्पस हाताभित्र पस्दा कोही विद्यार्थी नाराबाजी गरिरहेका थिए भने केही विद्यार्थीले चुनावी कोणसभाहरु ग्रिरहेका थिए । केही विद्यार्थी नेताले बदमासी भयो भन्दै चुनाव हुन नदिने चेतावनीसहित गोजीमा ताला र चावी बोकेर हिँडिरहेका थिए ।

सबै विद्यार्थी संगठनले केहीदिनअघिदेखि आपसमा भेला र समुह बनाई मत मागिरहेका छन् । तर ती भेलामा चुनावमा उठेका उम्मेदवार र सिमित कार्यकर्ताबाहेक विद्यार्थीको सहभागिता भने शुन्यप्राय देखिन्छ ।

करिब १२ सय विद्यार्थी संख्या भएको क्याम्पसमा विद्यार्थी संगठनका हरेक समुहमा करिब २० । २५ जनाका दरले मात्रै विद्यार्थी सहभागि भएको देखिन्छ । यसबाट के पुष्टि हुन्छ भने स्ववियु चुनावप्रति विद्यार्थीको उत्साह छैन ।

पटकपटक स्ववियुको चुनाव जितेको एमाले निकट विद्यार्थी संगठनले आफ्नो जित सुनिश्चित रहेको भन्दै बुधबार नाराबाजी गरिरहेको थियो । क्याम्पसमा सबैभन्दा बढी शक्तिशाली संगठन हौँ भन्ने उक्त संगठनको भेलामा विद्यार्थी सहभागिता देख्दा टिठलाग्दो देखिन्थ्यो । उम्मेदवार र सिमिति कार्यकर्ताभन्दा त्यहाँ अरु विद्यार्थी देखिँदैनथे । ती दृश्य  देख्दा यस्तो लाग्दथ्यो उम्मेदवारले आफ्नै उम्मेदवारसंग मत मागिरहेका छन् । विपक्षी संगठनले त्यो दृश्य हेरेर खिसिट्यूरी गरिरहेका थिए ।

यसैगरी क्याम्पस हाताभित्र नेविसंघ र संयुक्त प्यानलका समुह र भेला देखिन्थे । त्यहाँ पनि विद्यार्थीको कुनै उत्साह देखिँदैनथ्यो । तिनीहरुको अवस्था पनि दया लाग्ने नै थियो ।

उनीहरु पनि आफ्नै केही कार्यकर्ता बोकेर मत मागिरहेका थिए । आफ्नो समुह ठुलो देखाउन बाहिरबाट पार्टीका नेता कार्यकर्ता जम्मा गरेका भान हुन्थ्यो ।

विद्यार्थीको हक र अधिकारको लागि काम गर्ने संस्थाको रुपमा स्वतन्त्र विद्यार्थी युनियन रहनुपर्ने हो । यदि यसो हुन्थ्यो भने ती संगठनमा विद्यार्थी सहभागिता पनि उत्साहजनक हुन्थ्यो । स्ववियु चुनावलाई विद्यार्थीले आफ्नो कर्तव्य र प्रतिष्ठासंग जोड्थे । तर विद्यार्थी नेताको खोल ओढेर शैक्षिक र प्राज्ञिक कामको भन्दा बन्द, हड्ताल तालाबन्दी, तोडफोड, टायर बाल्ने, आगजनी गर्ने लगायतका अराजक कामको नेतृत्वमा विद्यार्थी नेता रहेका कारण अहिलेका स्ववियु चुनावमा विद्यार्थीको उत्साह नदेखिएको प्राध्यापकहरु बताउँछन् ।

विद्यार्थी संगठनको यस्तो हविगत सिद्धार्थमा मात्र होइन देशैभरी रहेको उनीहरुको भनाई छ ।

‘सुरुसुरुमा युनियनको चुनावमा विद्यार्थीहरु हुरुक्क हुन्थ । संगठनको भेला र समुहमा विद्यार्थी संख्या ठुलो देखिन्थ्यो तर यति लामो अन्तरालमा स्ववियुको चुनाव हुन लाग्दा विद्यार्थीमा उत्साह नरहनुले चुनावप्रति विद्यार्थीको विकर्षण छ’, एक जना प्राध्यापकले हाम्रो रोजगारीलाई भने ‘यस्तो समयमा विद्यार्थी क्याम्पस नआएर घर बसेका छन् । यो स्थितिबाट विद्यार्थी नेताले पाठ सिक्नुपर्छ । आफूहरुका कमजोरी खुट्याउनुपर्छ ।’ आफूहरुको यस्तो हालत देखिएपछि स्वयम् विद्यार्थी नेता निरासामा देखिन्छन् ।

अफ्नो संगठनको नेतालाई मत माग्न हिँड्नुपर्ने बेलामा सचेत भनिएका विद्यार्थी घरमा सुत्नुले राम्रो सन्देश नदिने नेपाली काँग्रेसका नेता सूर्य बरालको भनाई छ । नेपालको पछिल्लो राजनैतिक अवस्था र विद्यार्थी नेताले देखाएका क्रियाकलापबाट विद्यार्थीहरु आजित भएर यस्तो भएको उनको भनाई छ ।

१२ सय विद्यार्थी संख्या रहेको क्याम्पसमा बढीमा ७ सय विद्यार्थी मत खसाल्न जान सक्ने आंकलन विश्लेषकहरु गर्दछन् । यदि यसो भयो भने विद्यार्थीले स्कुल कलेजमा राजनीति चाहँदैनन् भन्ने कुराको पुष्टि हुने सरोकारवालाको भनाई छ । उनीहरु भन्छन् ‘अब विद्यार्थी नेताले आफूहरुलाई बदल्नुपर्दछ । पुरानो शैलीले अब विद्यार्थीले पतयाउनेवाला छैनन् । नेताभन्दा विद्यार्थी निकै चलाख भइसके ।’

तर यो कुरालाई स्विकार गर्दैनन् संयुक्त प्यानलका सभापतिका उम्मेदवार विज्ञान क्षेत्री । उनी भन्छन् ‘केही विद्यार्थी नेताको कारण विद्यार्थीमा निरासा जरुरी छ । यही नकरात्मकतालाई चिर्न मेरो उम्मेदवारी हो । चुनाव जितेमा स्ववियु कस्तो हुनुपर्दछ भन्ने देखाउने छु ।’

क्याम्पसका स्ववियु सभापति शुशिल क्षेत्रीले पनि स्ववियु विद्यार्थीको काम गर्ने संस्था भएको बताए । आफ्नो कार्यकाल स्वर्णिम रहेको भन्दै उनले उत्साहजनक ढंगबाट मतदानमा सहभागि हुन विद्यार्थीलाई उनको आग्रह छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ३ : २३ बजे