९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मधेश प्रदेशका जनताको स्वास्थ्यमा खेलवाड, अस्पतालमा कार्यालय सहयोगीले गर्छन् ल्याब टेस्ट



जनकपुर । प्रादेशिक अस्पताल र प्रयोगशालामा कार्यालय सहयोगी सुरेन्द्र यादव । २८ फागुन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ५९ वर्षीया कौशल्या देवी साह अस्वस्थ भएपछि फागुन १५ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भइन् ।

अस्पतालमा उनको रगतमा चिनीको मात्रा लगायत तीनवटा परीक्षण गरियो । ल्याब रिपोर्टमा चिनीको मात्रा ४२२।५ देखियो । ग्लुकोज बढेर अवस्था गम्भीर भएको भन्दै परिवारजन अताल्लिए । काठमाडौं लैजानेसम्मको तयारी भयो । तर अस्पतालकै एक चिकित्सिकले ल्याब रिपोर्टमाथि शंका गरेर बाहिरको ल्याबमा पुनः परीक्षण गराउन सुझाव दिए । बाहिरको ल्याबमा स्याम्पल परीक्षण गराउँदा रिपोर्टमा ग्लुकोजको मात्रा ११८।७ आयो, जुन सामान्य थियो ।

‘आमा ग्यास्टिकको बिरामी हुनुहुन्थ्यो । सुगर धेरै बढेको ल्याब रिपोर्ट आएपछि काठमाडौं लैजाने तयारी थाल्यौं’ कौशल्याकी छोरा रमाशंकरले भने, ‘एकजना चिकित्सककै सल्लाहमा बाहिरको ल्याबमा परीक्षण गराउँदा रिपोर्ट सामान्य आयो । त्यसपछि बल्ल दिमाग अलि शान्त भयो ।’

सुगर जाँच गर्दा प्रादेशिक अस्पताल र निजी प्रयोगशालामा देखिएको फरक फरक रिपोर्ट ।
महोत्तरीकी २८ वर्षीया बसिरा खातुनले गर्भको नियमित जाँच प्रादेशिक अस्पतालमै गराउँदै आएकी छन् । गत माघ १२ गते चिकित्सकको सल्लाह अनुसार उनले रक्त समूह परीक्षण गराइन् । ल्याब रिपोर्टमा ‘ओ’ पोजेटिभ आयो । उनीसँगै उनको जाँच गर्दै आएका चिकित्सक पनि झस्किए । किन भने प्रादेशिक अस्पतालमै गत ११ असोजमा गराएको परीक्षणमा रक्त समूह ‘बी’ पोजेटिभ देखिएको थियो ।

चिकित्सकलाई नै रिपोर्ट गलत लागेपछि बाहिरको ल्याबमा परीक्षण गर्न सुझाव दिए । बाहिरको ल्याबमा परीक्षण गराउँदा रक्त समूह ‘बी’ पोजेटिभ देखियो । अर्थात् प्रादेशिक अस्पतालको पछिल्लो बसिराको ल्याब रिपोर्ट गलत सावित भयो ।

‘गर्भाअवस्था महिलाको संवेदनशील अवस्था हो । रगतको जुनसुकै बेला अभाव भएर चढाउनुपर्ने हुन सक्छ । यसरी ल्याबको गलत रिपोर्टले ज्यानै जान सक्ने सम्भावना हुन्छ’, एक चिकित्सकले भने, ‘यो ल्याबको चरम लापरवाही हो ।’

फागुन १९ गते हामी प्रादेशिक अस्पतालको प्रयोगशालामा पुग्दा बिरामीले दिएको नमुना परीक्षणमा व्यस्त थिए कार्यालय सहयोगी सुरेन्द्र यादव । उनीसंग हामीले नाम र पद सोध्दा हच्किए । ‘भित्र हाकिम हुनुहुन्छ । उहाँसंगै बुझ्नुस्’ भन्दै उनी हिँडे । भित्र कुर्सीमा बसिरहेका थिए ल्याब टेक्निसियन निरीक्षक दुश्यन्त मिश्र ।

मिश्रले यादव कार्यालय सहयोगी भएको बताए । जनशक्ति अभावका कारण उनलाई नमुना संकलनको काममा लगाएको जिकिर गरे । ‘जनशक्ति अभावको कारण कार्यालय सहयोगीहरुले बिरामीबाट स्याम्पल कलेक्सन गर्नुहुन्छ । जाँच हामी नै गर्छौ’, मिश्रले भने । तर, अस्पतालकै चिकित्सकहरु अनौपचारिक कुराकानीमा कार्यालय सहयोगीले नमुना परीक्षण गर्ने गरेको स्वीकार गर्छन् ।

‘प्रादेशिक अस्पतालको ल्याब रिपोर्ट धेरै अविश्वसनीय छ । प्रायः यस्तो गलत रिपोर्ट भेटिइरहन्छ’ एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘रिपोर्टकै आधारमा हामीले औषधी उपचार गर्छौं । गलत रिपोर्टको आधारमा औषधी उपचार भयो भने बिरामीको ज्यानै जान सक्ने सम्भावना रहन्छ ।’

अस्पतालका ल्याब इन्चार्ज परमेश्वर यादवले जनशक्तिको अभावका कारण कार्यालय सहयोगीलाई नमुना संकलनको काममा लगाएको दाबी गर्छन् । ‘स्याम्पल कलेक्सनमा मात्र कार्यालय सहयोगी रहन्छन् । जनशक्ति छै, तर परीक्षण हामी आफैले गर्छौं’ उनले भने, ‘दिनमा तीन चारसय जनाको ल्याब परीक्षण हुन्छ । चारजना मात्रै ल्याब टेक्निसियन रहेकाले स्याम्पल कलेक्सनमा सहयोग लिने गरेका छौं ।’ ल्याब इन्चार्ज यादवले आफूहरुले गलत रिपोर्ट भने नदिएको दाबी गरे ।

अस्पतालका निर्देशक डा। प्रमोद यादव कार्यालय सहयोगीलाई प्रयोगशालाको काममा लगाउनु सामान्य विषय मान्छन् । ‘अस्पतालमा जनशक्तिको अभाव छ । त्यतातिर सरकारले ध्यान दिँदैन । यो कुराहरुको बारे पनि ध्यान दिनुस्’ उनले अनलाइनखबर संवाददातालाई भने ।हाल ३०० बेडको यो अस्पताल मधेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याएको एक वर्ष भएको छ । तर, प्रतिष्ठान मातहत आएयता प्रादेशिक अस्पतालमा उपचार सेवा झनै भद्रगोल बनेको छ । अनलाइनखबरबाट ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ५२ बजे