३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मुख्य खबर

झुटो बोल्ने नेतालाई जेल र जरिवाना गरिएमात्र देश बन्छः गुरुङ

भ्रष्टाचार गरेको पाइए स्थानीय स्तरदेखि नै लखेट्न युवाहरु लाग्नुपर्नेमा उनको जोड छ



पोखराः सिंगापुर पुलिसबाट अवकास प्राप्त गरेका पोखरा निवासी चिजकाजी गुरुङले झुटो बोल्ने नेतालाई जेल र जरिवाना गरिएमात्र देश बन्ने बताएका छन् । सेवाको क्रममा सिंगापुरमा २२ वर्ष पुलिसको जागिर गरेका गुरुङले नेताहरुले जे गरे पनि छुट हुने प्रवृतिका कारण मुलुक बन्न नसकेको बताए ।

सिंगापुरका पूर्व प्रधानमन्त्री लि क्वान युका सेक्यूरिटी गार्डससमेत बनेका उनले सिंगापुरको विकासका कुराहरु सुनाउँदै नेपालले पनि त्यही सिस्टम अनुसरण गर्नुपर्ने हाम्रो रोजगारीलाई बताए ।

उनी भन्छन् ‘नेपालको विकास गर्नु छ भने अब यहाँ झुटो बोल्ने र ढाँट्ने नेतालाई जरिवना गर्नुपर्दछ । सिंगापुर लगायतका विश्वका कतिपय देशहरुमा पार्लामेन्टमा झुटो बोल्ने नेतालाई जरिवाना तिराइन्छ । आवश्यक परे जेल हालिन्छ । तर यहाँ त नेतालाई जे गर्न पनि छुट छ । जसले जे गरे पनि हुन्छ । पार्लामेन्टजस्तो अति संवेदनशिल ठाउँ, जहाँ सांसदको बोली रेकर्ड हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रीय  महत्व राख्छ । यहाँ त हाम्रा नेता झुट बोल्छन् । यो हुँदा पनि कारबाही गर्ने यहाँ कोही छैन । त्यसैले यहाँ अराजकता बढेको छ । विसंगति बढेको छ ।’

पोखरा स्थायी घर भएका गुरुङले मुलुक विकासको लागि अब सबै जनता दलभन्दा माथि उठ्नुपर्ने बताए । ‘अहिलेका पार्टीमा पुराना र खिया लागेका नेतृत्व रहेका कारण यथास्थितिमा मुलुकको विकास हुन नसक्ने उनको दावी छ । यहाँ विकासको अर्को बाधक पुराना नेता हुन् । प्रचण्ड, ओली र देउवाबाट मुलुकले निकास पाउँदैन । अब राजनीतिमा युवा पुस्ता आउनुपर्छ, उनले भने आफू जुन पार्टीमा रहेको भए पनि सक्षम व्यक्ति छानेर मात्र मत दिनुपर्छ । गत चुनावमा जनताले त्यो विवेक अपनाउन सकेनन् । त्यसैले अहिले मुलुक यस्तो स्थितिमा छ ।’

लामोसमय आफू भ्रष्टाचारविरुद्धको अभियानमा जुटेको भन्दै भ्रष्टाचार गर्ने जोकोहीलाई संरक्षण गर्न नहुने उनले बताए । भ्रष्टाचार गरेको पाइए स्थानीय स्तरदेखि नै लखेट्न युवाहरु लाग्नुपर्नेमा उनको जोड छ ।

यसैबीच गुरुङले टाफिक नियम कडा नहुँदा मुलुकमा दुर्घटना बढेको बताए । उनी भन्छन् ‘सिंगापुरमा कसिलो नियम छ । त्यहाँ दुर्घटना भएका खबर बिरलै सुन्न पाइन्छ । नियम कस्तो छ भने त्यहाँ हरेक ठाउँमा स्पिड लिमिट छ । नियम मिचेर सवारी चलाए सुरुमा १००० डलर फाइन हुन्छ । दोश्रो पटक गल्ती भएमा लाइसेनस जफत हुन्छ । यो भएपछि कसले गल्ती गर्ने ?’

अहिले आफूले सेना र प्रहरीका उच्च पदस्थ ब्यक्तिसंग सवारी नियम परिमार्जनबारे छलफल गरिरहेको र बिभिन्न सामाग्री दिएको पनि उनले जिकिर गरे ।

थुकेमा पनि जरिवाना लाग्ने नियमका कारण सिंगापुरले विकासमा फड्को मारेको उनले बताए । उनले थपे ‘त्यसैले पनि नेपालमा अब नेतालाई झुटो बोलेमा जरिवाना तिराउने र आवश्यक पर्दा जेलमा हाल्ने कानुन बनाउनु पर्छ ।’

गुरुङले मुलकका जनतामा अहिले देशप्रेम र सेवाको भावना नरहेको बताएं । त्यही भावना नहुँदा नैतिकता र धर्म पनि हराउँदै गएको उनको बुझाइ छ । अवकास पछि आफूले ६० लाखभन्दा बढी दान गरेको सुनाउँदै देशप्रेम लगायतमा युवाहरुलाई जागरुक गराउन अहिले आफू लागि परेको गुरुङ बताउँछन् । गुरुङ पोखरामा समाजसेवी बौद्धिक र सामाजिक व्यक्तिका रुपमा चिनिन्छन् ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ५३ बजे