२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

मुख्य समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन : वरिष्ठ उपाध्यक्षमा रामचन्द्र र अन्जनबीच मुख्य प्रतिस्पर्धा

निर्णायक मानिएका ढकाल, मुरारका र गोल्छाको समर्थन जुटाउने प्रयास



काठमाडौँ । नेपाल उद्योग वणिज्य महासंघको साधारण सभा तथा महाधिवेशन यही चैत २८ गते तोकिएको छ। महासंघको निर्वाचनलाई लिएर चहलपहल बढ्न थालेको छ।

मंगलबार बसेको महासंघको कार्यसमिति बैठकले मनोनयन शुल्क निर्धारण समेत गरिसकेको छ। वरिष्ठ उपाध्यक्षको ५ लाख, उपाध्यक्षहरुको ३/३ लाखको दरले मनोनयन शुल्क तोकिएको छ।

व्यवसायी शिव घिमिरेले केन्द्रीय सदस्यमा उम्मेदवारी नै घोषणा गरिसकेका छन्। सम्भावित उम्मेदवारहरु जिल्ला दौडमा समेत देखिएका छन्। विगत १ महिनादेखि नै उनीहरु जिल्ला तथा नगरका कार्यक्रमहरुमा सहभागी हुँदै आएका छन्।

व्यवसायीहरुको छाता संगठन महासंघमा निर्वाचनमा उम्मेदवारलाई लिएर कर्पोरेट हाउसहरुमा चर्चा समेत हुन थालेको छ।

महासंघको निर्वाचन वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुमा बढी केन्द्रित हुन्छ। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। अघिल्लो महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष विजयी भएका चन्द्र ढकाल चैत २८ गते पछि अध्यक्ष हुँदै छन्।

यसअघि भवानी राणा र शेखर गोल्छा त्यसैगरी अध्यक्ष भइसकेको छन्। त्यो भन्दा अघि अध्यक्षमा पदमा नै निर्वाचन हुन्थ्यो। विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था ल्याएपछि उक्त पदमा निर्वाचन केन्द्रित हुने गरेको छ।

यो निर्वाचनमा पनि सबैको ध्यान अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्षमा केन्द्रित छ। उपाध्यक्षहरुमा पनि कस्ता व्यक्तिहरुले चाहना राख्छन् र को कसको टिममा छन्जस्ता विषयमा बढी चासो छ।

महासंघमा जिल्ला नगर उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष र वस्तुगत उपाध्यक्ष गरी तीन उपाध्यक्ष रहने व्यवस्था छ। कोषाध्यक्ष भने कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ।

यो पटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बन्न ४ जनाले इच्छा व्यक्त गरेका छन्। हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्ववस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, अहिलेका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, र एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाईले अब वरिष्ठ उपाध्यक्ष बन्ने चाहना व्यक्त गरेका छन्।

सबैभन्दा तीव्र तयारी भने अन्जन श्रेष्ठ र रामचन्द्र संघाईको देखिएको छ।

जिल्ला नगरमा रहेको मतदाताहरुसँगको भेटघाटमा उनीहरु व्यस्त छन्। वस्तुगत र एसोसिएट मतदाताहरुलाई समेत फकाउन लागिपरेका छन्।

अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले सामाजिक सञ्जालमा राखेको फोटोहरुले पनि उनीहरुको तयारी तीव्र रुपमा भैरहेको देखाउँछ।

निर्वाचन नजिकिँदै गर्दा भने उनीहरु धेरै मत तान्न सक्ने उम्मेदवारसहितको टिम बनाउन छलफलमा छन्।

महासंघमा शेखर गोल्छा–पशुपति मुरारकाको टिम र चन्द्र ढकालको टिम बलियो छ। उनीहरुको पकडमा धेरै मतभार छ।

महासंघको मतभारको कुरा गर्ने हो भने जिल्लातर्फको मत भार ५० प्रतिशत हुन्छ। एसोसिएटतर्फको मतभार ३० प्रतिशत र वस्तुगत तर्फको मत भार २० प्रतिशत हुन्छ।

तर जिल्ला नगरको मत भार धेरै रहेकोले अन्जन र रामचन्द्रले यसतर्फ धेरै मेहनत गरिरहेको देखिन्छ। त्यसका अलवा एसोसिएट र वस्तुगतका मतदाताहरुमा समेत उनीहरुले ध्यान दिइरहेका छन्।

एसोसिएटतर्फ, शंकर ग्रुप, आईएई ग्रुप र मुरारका–गोल्छाले होल्ड गर्ने मत धेरै छ। त्यसमा शशिकान्त अग्रवालहरुको भूमिका समेत महत्वपूर्ण मानिन्छ।

यी ग्रुपहरुको साथ लिन रामचन्द्र र अन्जान लागिपरेका छन्।

रामचन्द्रको तर्फबाट रञ्जित आचार्यले टिम बनाउने कामको समन्वय गरिरहेका छन्। उनी आफैँ एसोसिएट उपाध्यक्षमा चुनाव लड्ने तयारी गरिरहेको र रामचन्द्र संघाईसँग मिलेर टिम बनाउनको लागि व्यवसायीहरुबीच छलफलमा छन्।

पूर्वदेखि पश्चिमसम्म भेटघाट गर्ने र त्यसपछि पोखरामा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको अन्जन श्रेष्ठले योभन्दा अघि शेखर गोल्छाले समर्थन गरेको टिमबाट चुनाव जितेका थिए। अहिले पनि मुरारका र गोल्छाको समर्थन पाउने अपेक्षा उनले गरेका छन्।

अर्का आकांक्षी उमेशलाल श्रेष्ठले पनि आफू पछि नहट्ने जिकिर गर्दै आएका छन्। आफूलाई चन्द्र ढकालले सघाउने उनको विश्वास छ।

निर्वाचनमा कतिपयले मारवाडी समूह र नेवारी/पहाडी समूहबीच प्रतिस्पर्धा हुनसक्ने आकलन गरेका थिए। तर, त्यो सम्भव नहुने देखिएको छ।

शंकर समूह र सांघाई तथा विशाल ग्रुपबीच राम्रो सम्बन्ध छैन। शंकर समूह अन्जन श्रेष्ठलाई अघि बढाउन सजिलै तयार हुने स्थिति पनि छैन। त्यसकारण यो समीकरणमा चन्द्र ढकाल र पशुपति मुरारका र शेखर गोल्छाको भूमिका महत्वपूर्ण हुने देखिएको हो।

चन्द्र ढकालको आशा र भरोसामा रामचन्द्र अगाडि बढिरहेका छन्। तर शेखर र पशुपतिले पनि जिताउने गरि कसलाई समर्थन गर्ने र अघि बढाउने निर्णय गर्न बाँकी छ। यसपटकको निर्वाचनमा चन्द्र ढकाल, पशुपति मुराराका र शेखर गोल्छाले कसलाई समर्थन गर्छन् वा  टिम कस्तो बनाउँछन्, त्यसले जितको आधार तयार गर्नेछ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : ५९ बजे