२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

जोे बल्लतल्ल मन्त्री बने तर लामो ‘आयु’ पाएनन्

उनीहरुले सपथ खाँदा नै मञ्च हावाले उडाएर अशुभको संकेत गरेको थियो



कपिलवस्तु । आगामी फागुन २५ हुने राष्ट्रपति निर्वाचनमा ८ दलीय नयाँ गठबन्धन व्युँतिएसंगै त्यसको झोँक्काले अहिलेको संघदेखि प्रदेश सम्मलाईको सरकारलाई संकटमा पारेको छ । यही गठबन्धनको कारण आगामी राष्ट्रपतिमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनिए र एमालेका उम्मेदवार सुुवासचन्द्र नेम्वाङ पराजित भएको खण्डमा संघदेखि प्रदेशसम्म एमालेले करिब एक सय वटा पद गुमाउने छ । त्यसमा बिभिन्न प्रदेश सरकार पनि पर्नेछन् । मुख्यगरी लुम्बिनी, गण्डकी र १ नम्बर प्रदेश सरकारको नेतृत्वबाट एमाले पाखा लाग्ने निश्चित छ ।

यसो हुँदा लिला गिरी मुख्यमन्त्री रहेको लुम्बिनी प्रदेशमा एमालेबाट स्वास्थ्यमन्त्री बनेका विष्णु पन्थी र राप्रपाबाट द्योग, पर्यटन तथा यातायात मन्त्री बनेका जानकीप्रसाद यादवलाई ठुलो झट्का लाग्ने छ । उनीहरु मन्त्री बनेको आधा महिना मात्र भएको छ ।

यी मन्त्रीले सपथ खाँदाको मिति माघ २९ गते हावा र हुरीले सपथ समारोहको लागि सजाइएको स्टेज नै उडाएर अशुभको संकेत गरेको थियो । जसका कारण सपथ समारोह नै रोकिएर पूर्वनिर्धारित स्थानमा हुन पाएन । नभन्दै मन्त्री बनेर कार्यभार सम्हालेको एक महिना पनि पुरा नहुँदै पन्थी र यादव बिदा हुने स्थितिमा छन् ।

मन्त्री बन्ने सपना देखाएर चुनावमा होमिएका सांसद पन्थी ठुलो कसरतपछि अन्ततहः मन्त्री बने भने राप्रपाका यादवको भागमा चिट्ठा नै पर्यो । जिल्लाले २ मन्त्री पायो भनेर एकप्रकारले ठुलो खुसी पनि छाएको थियो । मन्त्रीहरु कार्ययोजना बनाउँदै थिए । मन्त्री बनेपछि यादव र पन्थीलाई स्वागत र सम्मान गर्नेको पनि उत्तिकै लाइन थियो ।

बिभिन्न कार्यक्रम शिल्यान्यास तथा उद्घाटनमा यी दुवै मन्त्रीलाई भ्याइनभ्याइ नै छ । जुन स्वभाविक थियो । यी मन्त्रीमध्ये स्वास्थ्यमन्त्री पन्थीले राम्रै काम गर्ने गरी योजना बनाएका बताइन्छ किनकि उनमा त्यो बाध्यता पनि थियो ।

२०७४ को चुनावमा सानदार जित हासिल गरेका उनको नियति नै यस्तै भयो कि मन्त्री बन्न पाएनन् । त्यतिखेर पाँच बर्षलाई दुई भाग लगाएर सत्ता बाँडिचुँडी गर्दा उनी पहिलोपटक माधव कुमार नेपालको पक्षका नेता भएका कारण मन्त्री हुन पाएनन् भने त्यसपछि मन्त्री भागमा परेता पनि केपी ओली लाइनमा पुगेका कारण मन्त्री हुन पाएनन् ।

मन्त्री बन्ने रहर भए पनि सांसदमै पहिलो पाँच बर्ष पार लगाएका मन्त्री पन्थी अहिलेको कार्यकालमा कम्तिमा पनि अढाई बर्षसम्म मन्त्री बन्नेमा ढुक्क थिए चुनावपछि जतिखेर एमालेले सरकारको नेतृत्व गर्ने अवसर पायो ।

लिला गिरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री बनेपछि स्वभाविक रुपमा मन्त्री बन्नुपर्ने अवस्था भए पनि उनलाई मन्त्री दिन पार्टीले निकै आनाकानी गर्यो । लुम्बिनी प्रदेश सभामा एमालेबाट जितेका सांसदहरुमा उनी यति लोकप्रिय थिए कि कतिखेर मुख्यमन्त्री बन्ने हल्ला चल्थ्यो त कतिखेर अर्थ । त्यो पनि नभए पन्थी अरु कुनै पावरफुल मन्त्री बन्छन् भन्ने लख काटिन्थ्यो ।

तर तिनै पन्थीलाई मन्त्री बनाउन पार्टीले निकै आनाकानी गर्यो । ठुलो कसरतपछि उनी मन्त्री त बने तर निकै छोटो आयुका मन्त्री बन्ने भएका छन् ।
फागुन २५ गतेसम्म नेपाली राजनीतिमा रातारात ८ रेक्टर स्केटलको भुकम्प आएर एमालेकै उम्मेदवारले राष्ट्रपति चुनाव जितेछन् भने मन्त्री पन्थीको पद जोगिएला, होइन भने उनीहरु महिना दिन पनि काम गर्न नपाई पूर्वमन्त्री बन्नेछन् । उनीहरु अभागि मन्त्री बन्दै बन्नेछन् । यस्तो हुँदा सबैभन्दा ठुलो चोट यादवलाई भन्दा पन्थीलाई पर्ने देखिन्छ ।

यदि नयाँ ८ दलीय गठबन्धनले अहिलेको सहमति कार्यान्वयन गरी पाँच बर्ष नै सरकारको नेतृत्व गरे भने मन्त्री पन्थी पनि आगामी पाँच बर्षमा फेरि पनि साँसदमै चित्त बुझाउन बाध्य हुनेछन् ।

यता माग २९ गते नै उद्योग, पर्यटन तथा यातायात मन्त्री भएका यादवको आयु पनि सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पनि राजीनामा दिइसकेका छन्।् । राप्रपाले प्रदेशहरूमा पनि सरकारबाट बाहिरिने निर्णय गरेको छ। अहिलेसम्म बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरिएको छ। राप्रपा बागमतीका मन्त्रीहरूले शनिबार मुख्यमन्त्रीलाई राजीनामा बुझाइसकेका छन् ।

लुम्बिनी प्रदेशमा सरकारबाट बाहिरिने कि नबाहिरिने भन्नेबारे निर्णय भइसकेको छैन। राप्रपाका सांसद जानकीप्रसाद यादव राप्रपा लुम्बिनीले केन्द्रसँग सरकारबाट बाहिरिने कि बस्ने भन्नेबारे छलफल गरिरहेको छ। सम्भवतह एकदुईदिनमा राप्रपा सरकारबाट बाहिरिने छन् । त्यसैले अहिले धेरैले पन्थी र यादवलाई भाग्य नभएका नेताको रुपमा लिन थालेका छन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : २० बजे