२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

राष्ट्रपति चुनावः आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने



काठमाण्डौ । राष्ट्रपति चुनावको प्रक्रियाअन्तर्गत आज शुक्रवार मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच वटा निवेदन परेका छन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार आगजनी मुद्दामा छ महिना कैद भई निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदन दिनुभएको छ । राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको हो ।

यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका दुई, राष्ट्रिय सभाका एक र प्रदेश सभाका एक सदस्यले नाममा फरक परेको भन्दै सच्याएर सूची संशोधन गर्न निवेदन दिएका छन् । सरस्वती खड्का, दुर्गा गुरुङ, सञ्जुकुमारी चौधरी र संगीता मण्डल धानुकले निवेदन दिएका हुन्  । यी निवेदनहरूमा निर्णय गरेर आज अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

आउँदो २५ गते हुने राष्ट्रपति चुनावमा प्रतिनिधि सभाका २७३, राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् । सङ्घीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि शनिवार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : १२ बजे