काठमाण्डौँ । दिउँसोको साढे १२ बजेको थियो । गुहार माग्दै डाँको छोडेर याचना मागेको आवाज शिलापत्रको कार्यालयभित्रै आइपुग्यो । ‘मलाई छोड्दिनुहोस् । मेरो छोरा पाल्नुपर्छ । सासू ससुरा हेर्नुपर्छ,’ एक महिला चिच्याइरहेकी थिइन् । तर, उनको चीत्कार सुन्ने पक्षमा थिएनन्, उनीहरू । उनीहरू अर्थात् काठमाडौं महानगरपालिकाको नगर प्रहरीको एक समूह ।
नगर प्रहरीले मूल सडकबाट लखेट्दै ति महिलालाई शिलापत्रको गेटमा ल्याइपुर्याएको थियो । ति महिला आत्तिएर गाडामुनि लम्पछार परिन् । दुई हात जोडेर बिन्ती दर्शाइन् तर प्रहरीले उनको गाडा छोड्न चाहेन । ४–५ जना प्रहरीको समूहसँग ति एक्ली महिला निरीह देखिन्थिन् । मकै बेचेर आएको सयको नोट, सानो छोराका लागि बोकेको जाउलो र छोराको जुत्ता भुइँमा झरेको थियो । घुँडामा चोट लागेको थियो ।
गाडामुनि लम्पछार परेकी ति महिलालाई बाहिर निस्कन जबर्जस्त उर्दी दिँदै थिए नगर प्रहरी । ‘तपाईंको अनुहार हेर्नुपर्यो । फोटो खिच्नुपर्यो । हामी लादैनौँ,’ कर्कश स्वरमा नगर प्रहरीले भनिरहेका थिए । तर, उनी निस्कन डराएकी थिइन् ।
एकाएक मान्छेको भिड र क्यामेरा तेर्सिएपछि नगर प्रहरी हच्किए । गाडामुनिबाट ति महिलालाई तानेर नगर प्रहरीले निकाले । ‘भोलिबाट आउने कि नआउने ? ’ धम्कीपूर्ण प्रश्न नगर प्रहरीले तेर्स्याए । बेचैन ति महिलाले जवाफ दिइन्, ‘आउँदिन सर ।’
‘हामीले फोटो खिचेका छौँ । आज एक दिनलाई छोडेका हौँ । भोलि पनि आयौ भने लैजान्छौँ,’ चेतावनी दिएर नगर प्रहरी मूल सडकतर्फ लागे । ति महिलाको आँसु थामिएको थिएन । शिलापत्रका सहकर्मी साथीहरूले मकैको धोक्रो गाडामा राखेर सम्झाइबुझाइ गरेपछि उनी गाडा धकेल्दै आफ्नो गन्तव्यतर्फ लागिन् ।