४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले प्रमुख सचेतकमा कपिलवस्तुका बलराम अधिकारी



काठमाडौँ । एमालेले प्रतिनिधिसभामा बलराम अधिकारीलाई प्रमुख सचेतक बनाउन तयारी गरेको छ।

संसद चल्न सुरु गरेको डेढ महिना भइसक्दा समेत एमालेले प्रमुख सचेतक नियुक्त नगरेको अवस्थामा त्यसको जिम्मेवारी कपिलवस्तु १ बाट निर्वाचित अधिकारीलाई दिन लागिएको हो।

प्रमुख सचेतक नहुँदा एमालेको संसदीय फाँटको नेतृत्व संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले गर्दै आएका छन्।

संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मोरङ २ बाट निर्वाचित ऋषिकेश पोखरेललाई प्रमुख सचेतक बन्न आग्रह गरे पनि उनले अस्वीकार गरेका छन्। पोखरेलले आफूलाई प्रस्ताव आए पनि जिम्मेवारी लिन नचाहेको देश सञ्चारलाई जानकारी दिए।

अधिकारीले भने आफूलाई प्रमुख सचेतकको जिम्मेवारी दिने विषयमा कुराकानी भए पनि पछिल्लो जानकारी नभएको बताए। उनले भने, ‘कुराकानी भएको हो। म जिल्लाबाट फर्किदै छु। पछिल्लो जानकारी केही छैन।’

उनले आफूलाई सकेसम्म सरकारमा पठाउन आग्रह गरेको बताए। ‘मैंले पार्टीलाई सरकारमा जान्छु भनेको छु, अधिकारीले भने। एमालेका एक उच्च तहका नेताका अनुसार अधिकारीलाई नै प्रमुख सचेतकको जिम्मेवारी दिने करिब निश्चित भएको छ।

२०३४ सालदेखि राजनीतिमा लागेका अधिकारी २०७० मा कपिलवस्तु १ बाटै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसअघि २०५६ र २०६४ मा पार्टीले टिकट दिए पनि उनी निर्वाचित भएका थिएनन्।

उनी अहिले एमाले पार्टी केन्द्रीय सदस्य र कपिलवस्तु इन्चार्जसमेत हुन्।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १ : ५६ बजे