३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मुख्य समाचार

१४ औँ कपिलवस्तु महोत्सव गर्न दुई संस्थाको होडः एकै महिनामा दुई मिति

झगडा नगरी मिलेर महोत्सव गर्न सरोकारवाला सुझाउँछन्



वाणगंगा । १३ औँ कपिलवस्तु महोत्सव कृषि तथा पर्यटन प्रदर्शनी सकिन नपाउँदै १४ औँ कपिलवस्तु महोत्सव गर्नको लागि दुई संस्था होडमा लागेका छन् । यतिसम्म कि दुवै संस्थाले एकै महिनामा दुई मिति तय गरी निमन्त्रणा बाँडेका छन् भने उनीहरुले तय गरेको स्थान पनि एउटै छ, त्यो हो बुद्ध रंगशाला ।

यस्तो होडमा लाग्ने संस्था हुन् वाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटी जितपुर र उद्योग ब्यापार संघ कपिलवस्तु । ८० मंसिर २१ देखि पौष १ गतेसम्म वेलफेयरले महोत्सव गर्ने भन्ने सूचना १३ औँ कपिलवस्तु महोत्सवमा ८ औँ दिनमा उद्घोषकले जानकारी गराएका छन् भने सम्बन्धित ब्यक्तिलार्इ समेत उनीहरुले जानकारी गराएका छन् ।

सोसाइटीका अध्यक्ष राज खाँणले आफूहरुले अहिलेसम्म ५ वटा महोत्सव सफलतापूर्वक लगाइसकेको बताउँदै छैठौँ महोत्सव आफूहरुले नै लगाउने बताउँछन् । महोत्सव लगाएर यस क्षेत्रमा बिभिन्न सामाजिक कामसमेत गरिसकेको बताउँदै उनी उनी भन्छन् ‘२०६८ सालमै जितपुर रंगशालामा तेश्रो कपिलवस्तु महोत्सव लगाउने हामी नै हौँ । यसपटक पनि पालो हाम्रो थियो तर विविध कारणले कपिलवस्तु उद्योग वाणिज्य संघले महोत्सव लगायो । १४ औँ कपिलवस्तु महोत्सव हामी नै लगाउँछौँ । यहाँ दायाँबाँयाँ हुँदैन ।’

यता जिल्लामा भर्खरै सक्रिय रेहेको उद्योग ब्यापार संगठनले पनि यही महोत्सवको श्रृङखलालाई निरन्तरता दिँदै १४ औँ तर आफूहरुको सक्रियतामा पहिलो पहिलो महोत्सव गर्ने जनाएको छ । महोत्सवको नारा र मितिसमेत तय गरी तयारी थालिसकिएको संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताए ।

उनका अनुसार ‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकिकरण र व्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ मंसिर ८ गतेदेखि १९ गतेसम्म महोत्सव लाग्ने छ । उनी भन्छन् ‘महोत्सव हुनेबारे ३ दिनअघि नै महोत्सवस्थलमा गएर स्टल धनी र सरोकारवालालाई निमन्त्रणसमेत दिइसकका छौँ । महोत्सवको मिति हामीले पहिला तय गरेका हौँ । कुनै पनि हालतमा बुद्ध रंगशालामै तोकिएको मितिमा १४ औँ कपिलवस्तु महोत्सहामी लगाएरै छाड्छौँ ।’

वेलफेयरले पनि कुनै हालतमा अर्को संस्थालाई आगामी महोत्सव लगाउन नदिने बताउँछ । यता उद्योग ब्यापार संघका पदाधिकारीले क्लवले महोत्सव लगाउने कुरालाई प्रशासनले पनि अनुमति नदिने हुँदा आफूहरुले आगामी महोत्सव लगाउने दावी गर्दछन् ।

खाँण र पौडेलले आगामी महोत्सव गर्ने ढिपी नछाडे लगातार तेश्रोपटक महोत्सव लगाउने अवसरमा आफूहरु हुने कपिलवस्तु उद्योग वाणिज्य संघका पदाधिकारी बताउँछन् । महोत्सवको १३ औँ संस्करणसम्म आइपुग्दा उद्योग वाणिज्य संघ र वेलफेयर सोसाइटीले आलोपालो गरिरहेका छन् ।

कतिपयले १३ औँ कपिलवस्तु महोत्सव सकिन नपाउँदै भएको यो हतारोलाई निरर्थक मान्छन् । जसले महोत्सव लगाए पनि कपिलवस्तुको पहिचान झल्काउने, सामाजिक काम गर्ने, ब्यापारी ब्यवसायीको फाइदा हुने गरी महोत्सव लगाउन उनीहरुको सुझाव छ ।एकै क्षेत्रमा रहेर काम गर्ने ब्यक्तिहरु यसरी लड्दा राम्रो सन्देश नजाने बताउँदै आफसमा झगडा नगरी मिलेर आगामी महोत्सव गर्न सरोकारवाला सुझाउँछन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ४५ बजे