२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

महोत्सव विशेषः स्थलगत रिपोर्ट

कपिलवस्त महोत्सवमा उद्योगमन्त्रीको बग्गी यात्राको त्यो ‘२ मिनेट’

उनी आउँदाको दृश्य साँच्चिकै अनुपम थियो



वाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको ‘१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी’को उद्घाटन सत्र विगतका बर्षमाभन्दा भिन्न देखियो ।

तामझाम र भव्य समारोहकाबिच बुद्ध रंगशाला ४ नम्बर जितपुरमा मंगलबार महोत्सवको उद्घाटन हुँदा एक दृश्य फरक र नौलो थियो । त्यो दृश्य थियो अतिथि सत्कारको । उद्घाटन सत्रको प्रमुख अतिथि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी थिए भने नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डी ढकाल, तिनै सरकारका जनप्रतिनिधि विशिष्ट अतिथिमा थिए । स्थानीय संघसंस्थाका प्रमुख र प्रतिनिधिलाई खचाखच मञ्चमा राखिएको थियो ।

नेपालकै ठुलो भनिएको निकै आकर्षक स्टेजमा दिउसो १ बजे उद्घाटन सत्रको समय थियो । प्रमुख अतिथि आउन ढिलाई भएपछि उद्घोषक संघका (महासचिव मनोज पौडल) ले कार्यक्रम सुरु गरे ।

उनले अतिथिका नामहरु उच्चारण गरिरहेका थिए, त्यही बखत प्रमुख अतिथि महोत्सवको स्टेजतर्फ आउने कार्यक्रम थियो । उनी आउँदाको दृश्य साँच्चिकै अनुपम थियो । नभन्दै एकैछिनमा प्रमुख अतिथि आए ।  पछिपछि सवारीमा नेपाल उद्योग वािणज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, केन्द्रीय र प्रदेशका उद्योगी नेता, आयोजकका पूर्व अध्यक्ष उमानाथ पौडेल लगायतको लस्कर पनि थियो । मन्त्रीको पछिपछि रहेका उनीहरु सबै निकै हँसिलो मुद्रामा थिए ।

यसअघि महोत्सवका प्रमुख अतिथि कार्यक्रममा आउँदा लावालस्कर गाडी हुने भएकाले मंगलबार सवारीको लाइन नदेख्दा मंचका अतिथिलेसमेत मन्त्री आएको चाल पाएनन् । किनकि त्यहाँ प्रमुख अतिथिलाई स्वागत गर्न भन्दै बग्गीको ब्यवस्था गरिएको रहेछ । त्यसैले मन्त्री आउँदा सबैको ध्यान त्यतै खिचियो ।

मंचमा चढेका अतिथि भरिले घाँटी तन्क्याई तन्क्याई अगाडी हेर्दै थिए । मञ्चका पत्रकार एक्कासी मान्छेको भीँडतिर हुत्तिए । त्यो गर्दागर्दै मान्छेको हुल स्टेज नजिक आयो र बगगीमा देखिए मन्त्री भण्डारी ।

बग्गी र घोडा सजिएका थिए । भारतको सिद्धार्थनगरबाट १० दिनको लागि झिकाइएको बग्गी कुनै दुलहीभन्दा कम थिएन । घोडाहरु तर्सन्छन् भनेर त्यहाँ अरु सवारीलाई निशेध गरिएको थियो ।

महोत्सवको पश्चिमतर्फको दोश्रो गेटबाट मन्त्रीलाई बग्गीमा चढाएर करिब ३ मिनेटको बग्गी यात्रापछि मन्त्रीलाई बल्ल मञ्चमा चढाइयो । उनलाई महोत्सवका निर्देशक छवि रेश्मी लगायतले फुल, माला र खादाले स्वागत र सम्मान गरे । रातो खादामा मंचमा चढेका दर्जनौँ अतिथि पनि यो दृश्यमा पुलकित देखिन्थे भने दर्शकले पनि कसैले सेल्फी त कसैले मन्त्रीको नजिकै गएर फोटो खिचेका थिए ।

कतिपय दर्शकको लागि बग्गी नौलो थियो । एक जना दर्शकले भन्दै थए ‘टिभीमा राजा यसैगरी हिँडेको देखेको थिएँ आज आफ्नै अगाडी मन्त्री चढेको हेर्न पाएँ । निकै रमाइलो लाग्यो ।’ अरु दर्शकले पनि यस्तै यस्तै भन्दै थए ।

उद्घाटनको अवसरमा मन्त्रीको स्वागतमा बिभिन्न संघसंस्था र विद्यालयको संस्कृति र भेषभुष झल्कने झाँकी थियो । बाजागाजा, थारु जातिको झुमरा र लाठी नृत्यले प्रमुख, विशिष्ट र अरु अतिथि पनि दंग देखिन्थे ।

मन्त्री पनि यसरी पहिलोपटक बग्गी चढेका रहेछन् । हाम्रो रोजगारीसंगको छोटो कुराकानीमा मन्त्री भण्डारीले निकै नौलो र रमाइलो लागेको छोटो प्रतिक्रिया दिए । उनले त्यो करिब ३ मिनेटको यात्रा अनुपम र स्मरणी रहेको बताए । मंचमा करिब १५ मिनेट भाषण गर्दा पनि मन्त्री भण्डारीले कपिलवस्तुको स्वागत, यहाँको कला संस्कृति, भेषभुषाबाट प्रभावित भएको भन्दै भनेका थिए ‘कपिलवस्तु ऐतिहासिक जिल्ला हो, यसको विकासमा मन्त्रालयले आगामी वर्ष बजेटमै सम्बोधन गर्ने छ ।’

डेल लाख दर्शकले अवलोकन गर्ने र करिब ६ करोडको कारोबार लक्ष्य राखिएको महोत्सवमा प्रमुख आकर्षणको रुपमा महोत्सवको प्रमुख आकर्षणको रुपमा नवौँ डान्स आइडल, पहिलो गायन आइडल, कृषि र पर्यटन प्रवद्र्धन, माटो परीक्षण र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति इत्यादि रहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ४९ बजे