३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

१३ औँ कपिलवस्तु महोत्सव विशेष

दुलहीझैँ सिंगारियो बुद्ध रंगशालाः आज निशुल्क, ७ फन्को मारेपछि स्टेज ?



वाणगंगा । आजदेखि सुरु हुने १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको कारण वाणगंगाको जितपुरस्थित बुद्ध रंगशाला दुलही झैँ सिंगारिएको छ । महोत्सव हुने भएपछि बुद्ध रंगशालाको चारैतिर कम्पाउण्डिङ गरिएको छ भने भित्र सिंगारेर चिटिक्क बनाइएको छ ।

आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले महोत्सवलाई राम्रो बनाउन कुनै कसर बाँकी राखेको छैन । मूल गेटदेखि स्टेजसम्म बिभिन्न ब्यानर, लाइट, टेन्ट, फुलमाला, ध्वजा, पताकाले राम्रो देखिएको छ भने बाल उद्यान लगायतले पनि महोत्सव स्थल आकर्षक देखिएको छ । उद्घाटनको दिन आज महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

यस्तो छ मूल गेटदेखि स्टेजसम्मको अवस्था । कसरी प्रवेश गर्ने ?

सुरुमा दर्शक महोत्सवस्थल बुद्ध रंगशालामा जितपुरमा आउनु पर्ने छ । त्यसपछि टिकट घरमा गई ७० र ५० रुपैयाँको टिकट खरिद गर्नुपर्ने छ । साधारण ब्यक्तिको लागि ७० रुपैयाँ टिकट लाग्ने छ भने विद्यार्थीले परिचय पत्रको आधारमा ५० रुपैयाँको टिकट लिन पाउने छन् ।

त्यसपछि गेटमा गई आफ्नो लाइनमा उभिनु पर्ने छ । बुद्धकालिन सामग्रीले चिटिक्क पारिएको प्रवेशद्धारा अघि पुरुष, महिला र अपाङ्ग अशक्तको लागि छुट्टाछुट्टै लाइनको ब्यवस्था गरिएको छ । त्यही अनुसार लाइनमा बस्नु पर्ने छ । ठाउँठाउँमा सेक्युरेटी गार्ड र सुरक्षाकर्मी तैनाथ भएका हुनेछन् ।

मूल प्रवेशद्धारभित्र दर्शकले सुरुमा डुमसहितको स्टल देख्न पाउने छन् । सुरुमा पश्चिमपट्टी कृषिका स्टल देखिने छन् । विशेष गरी माछा पोखरी, सर्पदंश, कृषिका आधुनिक यान्त्रिक उपकरण, दैनिक उपभोग्य सामाग्री, खाद्यान्ह, सूचना प्रविधि, लत्ताकपडा र भाँडाकुँडा आदिका स्टलहरु नियाल्न उत्तरदक्षिण गरी करिब ७ फन्को मार्नुपर्ने छ ।

यसरी फन्को मारेपछि अन्तिम स्टलका रुपमा अटो स्टल देख्न पाइने छ । जहाँ निकै आकर्षक ढंगले सजाइएको छ । त्यसपछि सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमको लागि अगाडी पट्टि निकै आकर्षक बनाइएको स्कृनसहितको स्टेज देख्न सकिने छ । स्टेजमा भिडिओ छायांकन गर्ने क्रेन हुने छ ।

महोत्सवमा ७ फन्को मारेपछि बल्ल बालउद्यान र होटल रेष्टुरेन्टतर्फ जान सकिने छ । स्टेजको पश्चिमपट्टी होटल र रेष्टुरेन्टका स्टल छन् भने पूर्वपट्टी छेउमा एउटा पुरानो थारु संस्कृति झल्कने घर भेटिने छ । त्यो घरमा बिभिन्न सांस्कृतिक चित्र पनि देखिने छ । अनि पश्चिमपट्टी नै बाल उद्यानतर्फ महत्का कुवा, जादुगर, पिङ (डुङ्गा, रोटे लगायत) राखिएका छन् । स्टेजको अगाडीपट्टी आकर्षक सानो सचिवालय पनि बनाइएको छ ।

त्यहाँ दर्शकले सेल्फी खिच्न सक्ने छन् । बिचबिचमा दर्शकले बिभिन्न खालका फोटो खिच्ने ठाउँ पनि भेट्ने छन् । महोत्सवभर धुलो धुवाँ नहोओस् भन्नको लागि पानी छर्कने काम हुनेछ भने सामान्य विरामी र चोटपटक भएमा निशुल्क प्राथमिक उपचारको ब्यवस्था पनि आयोजकले गरेको छ । यसको लागि कपिलवस्तु सामुदायिक अस्पताल र सी एण्ड सी हस्पिटलले सहकार्य गरेका छन् ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नारा बोकेको महोत्सवको उद्योग मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम रहेको आयोजक बताउँछन् । महोत्सवको माघ २९ गते समापन हुने छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : २९ बजे