२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

आजदेखि १३ औँ कपिलवस्तु महोत्सवः उद्योगमन्त्रीले उद्घाटन गर्ने



वाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि ‘१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी’ सुरु हुँदैछ । करिब १ महिनाको तयारीपछि आज महोत्सवको उद्घाटन हुन लागेको हो ।

महोत्सव उद्घाटनको लागि दिउसो १ बजे नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी वाणगंगास्थित महोत्सवस्थल बुद्ध रंगशालामा आइपुग्नु हुने महोत्सवका संयोजक तथा संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । मन्त्रीसंगै उद्योगी नेता पनि आउने बताइएको छ ।

उद्घाटनको अवसरमा बिभिन्न स्थानबाट संघसंस्था र विद्यालयले भेषभुषा र संस्कृति झल्कने खालका झाँकी र र्याली निकाल्ने छन् भने बाजागाजले यस क्षेत्रको वातावरण नै संगितमय हुने संयोजक घिमिरेले बताए ।

महोत्सवको प्रमुख आकर्षणको रुपमा नवौँ डान्स आइडल, पहिलो गायन आइडल, कृषि र पर्यटन प्रवद्र्धन, माटो परीक्षण र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहेको महोत्सवका निर्देशक छवि रेश्मीले बताए ।

महोत्सवको डेल लाख दर्शकले अवलोकन गर्ने र करिब ६ करोडको कारोबार लक्ष्य राखिएको संघका महासचिव मनोज पौडेलले बताए । ७० र ५० रुपैयाँको टिकट खरिद गरेर दर्शकले मेलाको अवलोकन गर्ने छन् ।

महोत्सवमा अपाङ्गता भएका, बालबालिका र अति ज्येष्ठ नागरिकलाई लाइनमा बस्न नपर्ने गरी व्यवस्था मिलाइएको पौडेलले हाम्रो रोजगारीलाई बताए । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नारा बोकेको महोत्सव माघ २९ गते समापन हुने छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ४३ बजे