२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

महोत्सव विशेष

१३ औँ कपिलवस्तु महोत्सवः प्रमुख अतिथिलाई बग्गी, स्टेजमा स्कृन र क्रेन



वाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारदेखि सुरु हुने १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा यसपटक केही नयाँपन दिन आयोजक लागि परेको छ । अन्य सबै कुराहरु हिजोकै निरन्तरता भए पनि अतिथि सम्मान र सत्कार, कला संस्कृति संरक्षण, स्टेज, साउण्ड सिस्टम, लाइटिङ र भिडिओ छायांकनमा नयाँपन दिन खोजिएको महोत्सवका निर्देशक छवि रेश्मीले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

धेरै स्थानमा महोत्सव लाग्ने भएकाले अहिले यहाँको महोत्सवलाई केही भिन्न आकार दिन खोजिएको उनको भनाई छ । उनका अनुसार उद्घाटनका प्रमुख अतिथि र अन्य दिनका प्रमुख अतिथिलाई प्रवेशद्धारबाटै बग्गीमा चढाएर स्टेजमा लगिने छ ।

यस्तो गर्नुको पडाडीको कारणबारे उनी भन्छन् ‘प्रमुख अतिथि भनेका अरुभन्दा भिन्न हुन् र उनीहरुको छुट्टै सम्मान र सत्कार हुाुपर्छ भन्ने कुरा हामीले सिकाउन खोजेका छौँ । यो सम्भवतहः नेपालमा नै पहिलोपटक गर्न लागिएको छ । यस अभ्यासले अतिथिहरुलाई पनि उत्साहित बनाउने र दर्शकको लागि पनि रमाइलो हुने विश्वास लिएका छौँ । यसले कारोबारमा पनि सघाउने आशा राखेका छौँ ।’

स्टेज, साउण्ड सिस्टम र लाइटिङमा पनि यो महोत्सव भिन्न हुने उनले बताए । ‘स्टेजमा ठुलो डिजिटल स्कृन राख्ने, चर्चित नेपथ्य ब्याण्डको जस्तो साउण्ड सिस्टम र लाइटिङ बनाउने कोसिस गरेका छौँ । यसको लागि काठमाण्डौँबाट लाइट र साउण्ड इन्जिनियर आउने छन्’ उनले भने ।

यस्तै भिडिओ छायांकन साधारण तवरबाट नभएर क्रेनबाट हुने उनको भनाई छ । घरमा टिभीमा हेर्ने दर्शकले पनि मज्जाले महोत्सवको आनन्द लिन सकून् भनेर यस्तो गर्न लागिएको रेश्मीले बताए ।

महोत्सवमा पहलोपटक थारु संस्कृति झल्कने पुरानो शैलीको थारु घर हुने उनी बताउँछन् । ‘कपिलवस्तुमा थारु वाहुल्यता छ, सबै जातजातिको यस्तै प्रदर्शनी चाहेका थियौँ । तर अहिले थारु संस्कृतिबाट सुरु गछौँ । यदि यो प्रयोग राम्रो भएमा अर्का बर्षमा अरुलाई पनि समेटौँला । अहिले स्टेजको छेउमा थारु घर हुने छ । त्यहाँ थारु परिकारको स्वाद चाख्न पाइने छ भने थारु संस्कउतिका प्रख्यात धान नाच, मयूर नाच लगायतका नाच दर्शकले देख्न पाउने छन’ निर्देशक रेश्मीले थपे ।

कलाकार छनौटमा पनि ध्यान दिइएको उनी बताउँछन् । धेरै दर्शकको मन जितेका, अनुशाषित राष्ट्रिय र स्थानीय कलाकारलाई प्राथमिकता दिइएको उनले बताए । महोत्सवको अन्य आकर्षणको रुपमा नवौँ डान्स आइडल, पहिलो गायन आइडल, कृषि र पर्यटन प्रवद्धन, माटो परीक्षण लगायत रहेका छन् ।

महोत्सवको नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ भोलिबाट सुरु भई महोत्सव माघ २९ गते समापन हुने छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : २४ बजे