२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

आज मेरो सभापतिसंग सल्लाह लिनेदिने कोही छैनः काँग्रेस सहमहामन्त्री पाण्डे



कपिलवस्तु । नेपाली कांग्रेसका सह–महामन्त्री बद्री आफ्ना सभापति शेर बहादुर देउवासंग सल्लाहा लिनेदिने आज कोही नभएको बताएका छन् ।

कपिलवस्तु जेसिजको १३ औँ पदस्थापना कार्यक्रमलाई वाणगंगामा सम्बोधन गर्दै सहमहान्त्री पाण्डेले काँग्रेसका सबै पूर्व सभापतिहरु स्वर्गिय भइसकेकाले सभापति देउवालाई सल्लाह लिनेदिने कोही नभएको बताएका हुन् ।

उनले भने ‘कपिलवस्तु जेसिजको १३ औँ पदस्थापनमा आएर बोलिरहँदा अगाडी पर्व अध्यक्षहरुको लाइन देखेको छु । म जेसिजसंग नजिक छु । धेरै कार्यक्रममा गएको पनि छु । जेसिजले आज जुन गति प्राप्त गरेको छ, त्यो सबै पूर्व अध्यक्षहरुको देनबाट होजस्तो लाग्छ । तर मुलुकको सबैभन्दा ठुलो प्रजातान्त्रिक शक्ति नेपाली काँग्रेससंग एक जना पनि पूर्व सभापति हुनहुन्न । सभापति देउवा ज्युले कससंग सल्लाहा लिने ?’

बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका पाण्डेले सभापतिलाई सल्लाह दिने पनि ठिक नहुँदा आज काँग्रेसको यो हालत भएको बताए ।

करिब १५ मिनेट भाषण गरेका पाण्डेले हिजोको गठबन्धन भत्कँदा आज मुलुकको गति सही दिशातर्फ नभएकोतर्फ इंगित गरे । कांग्रेस, माओवादी लगायतका दलहरु मिलेर चुनाव लडेको स्मरण गर्दै उनले भने प्रधानमन्त्री प्रचण्डले गोरखाका कांग्रेसजनलाई के जवाफ दिनुहुन्छ ?

‘गोरखाका कांग्रेसजनलाई प्रचण्डले के भन्ने जवाफ दिन्छन् उनले प्रश्न गर्दै भने, म पनि बाजुराबाट समाजवादी, माओवादीका मत पाएर चुनाव जितेको हुँ, मैले ती मतदातालाई के जवाफ दिने ? बढो अफ्ठायारो महसुस भइरहेको छ । तलदेखि नै राजनीतिको लय र रिदम विग्रेको छ । असल राजनीतिक संस्कृतिको बाटोमा हिड्नुपर्ने अहिलेको कर्तव्य हो ।’

अहिले अस्वभाविक र प्राकृतिक गतिबाट विश्रृङ्खलित भएको उनले बताए । ‘अहिले स्वभाविक थियो कांग्रेस, माओवादी लगायतका दलहरु मिलेर चुनाव जितेका थिए, उनको नेतृत्वमा सरकार बन्नुपथ्र्यो । यो गठबन्धन करिब करिब बहुमतको छेउँछाउँमा थियो । त्यही गठबन्धनको सरकार बन्नु पथ्र्यो, उचित यहीँ थियो । एमाले जस्तो बलियो शक्ति दोस्रो ठूलो दल भएको कारण प्रमुख प्रतिपक्षमा बसेर राजनीतिक गति र रिदमलाई ठीक ठाउँमा लैजान भूमिका खेल्नुपथ्र्यो उनले भने’, ‘तर यसबाट हामी विश्रृङ्खलित भएका छौं ।’

‘हामी आफ्नो काम भन्दा अन्त बढी ध्यान दिइरहेका छौं । एउटा राजनीतिकर्मीले राजनीति भन्दा अन्त ध्यान दिने, एउटा व्यवसायीले व्यवसायिक धर्म भन्दा अन्त ध्यान दिने, एउटा पत्रकार पत्रकारिताको मर्म भन्दा अन्त जाने प्रवृत्तिले व्यावसायिक निष्ठा र धर्मबाट च्यूत भएको देखाउँछ उनले भने’, ‘यसरी समाज र मुलुक कसरी बन्छ ? हाम्रो इमान र निष्ठामा चुनौती छ । हामी यो समिक्षा गर्नै पर्छ, उनले भने।’

आफ्ना काम र कर्तव्यलाई मन, वचन र कर्मले पूरा गर्न सके मात्र देश निर्माणको गति पक्रिन सकिने उनको तर्क छ । ‘अहिले हामी विश्रृङ्खलित, विचलित छौं, अझै पनि दिग्भ्रमित छौं, आफ्ना–आफ्ना कर्तव्य निर्वाह गर्ने बाटोमा लागौं । तब मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौं । यो कुराको नेतृत्व मुल राजनीतिक नेतृत्वले गर्नुपर्छ,’ उनले जोड दिए ।
हालै रवी लामिछाने प्रकरणबारे बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय सानो घटनाका पछाडी लाग्ने प्रवृत्ति बढेको पनि उनले बताए ।

‘हिजो मात्रै रवी लामिछानेको फैसला अदालतले सुनायो । अब हामी यसरी लागिपरेका छौं यही बेला लामिछानेको तजोबोध गर्ने, यही बेलामा खुइल्याउने गरी उनले भने,’ ‘यो सबै काममा, चक्रमा लागिरहनु पर्छ भन्ने मलाई लाग्दैन् ।’

लामिछानेले गल्ती गरेका थिए, लापरबाही गरेका थिए त्यो दण्डीत गर्ने काम अदालतको भएको उनले बताए । न्याय निरुपण भइसकेको विषयमा सारा मान्छे त्यसमा लाग्नुको कुनै अर्थ नहुने उनले जनाए । कसैलाई प्रशंसा गर्नुपरे अति प्रशंसा गर्ने, कसैको अपमान र घृणा गर्नुपरे अति घृणा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ३६ बजे