२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बढे चेक बाउन्सका उजुरीः ३ महिनामा २११ उजुरी, ६७ को मुद्दा अदालत पुग्यो



चितवन। चेक बाउन्सका मुद्दा बढ्दो क्रममा छन्। गत कात्तिकमा स्थापना भएको बैंकिङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म २ सय ११ निवेदन परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन्। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दर्ता भएका मुद्दामध्ये २६ वटा फैसला भएका छन्।

यस्तै परेका निवेदनमध्ये २१ वटा आपसी छलफलबाट छिनोफानो भएको उनले बताए। ‘चेक बाउन्सका दैनिक तीनवटा हाराहारी उजुरी पर्ने गरेका छन्,’ उनले भने। उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका हुने गरेका छन्।

चेक अनादर गर्ने क्रम बढ्दो क्रममा रहेको जनाउँदै उनले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताए। बैंकिङ कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

पछिल्लो समय चेकलाई केही होइन भन्नेको सङ्ख्या बढ्दो रहेकाले पनि बैंकिङ कसुर बढ्दै गएको पण्डितले बताए। रासस

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ६ : ०७ बजे