४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चितवन–२ मा उपचुनाव कहिले ? लामिछाने फेरि उपचुनावबाट आउलान् ?



काठमाण्डौ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपचुनाव हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपचुनावको प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनाव कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन । गएको मंसिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए । उनले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए । चितवन २ मा हुने उपचुनावको लागि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि चर्चा सुरु हुन थालेको छ । कतिपयले रवि लामिछाने फेरि उपचुनावबाट निर्वाचित भएर आउने आकलन गरेका छन् ।

सत्तारुढ दलभित्र मिलेर उम्मेदवारी दिने कि मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ । लामिछानेले चुनावका समयमा प्रयोग गरेको नागरिकतालाई सर्वोच्चले मान्यता नदिएपछि लामिछानेको सांसद पद गुमेको हो ।

सर्वोच्चको आदेशलगत्तै लामिछानेले मन्त्रीबाट राजीनामा पनि दिइसकेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : २२ बजे