४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जुन दिन ‘जसरी पनि’ किस्ता बुझाउनुपर्ने थियो, त्यही दिन उनी मृत भेटिए



काठमाण्डौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का रामदेव मरिकले छोरोको बिहे धूमधामका साथ गर्ने योजना केही वर्ष पहिले नै बनाएका थिए। दुई छोराका पिता ४५ वर्षीय मरिकले घरमा जेठी बुहारीलाइ स्वागतका लागि थुप्रै सपना बुनेका थिए। मरिकले श्रीमती उर्मिला देवीसँग सल्लाह गरेर जेठो छोरोको विवाह गरिदिने योजना बनाए।

मरिक र उर्मिलालाई आफूहरूले सोचेअनुसार बिहे गर्न गाउँघरमा काम गरेर गुजारा चलाउने मजदुरका लागि सम्भव छैन भन्ने कुरा थाहा थियो। तर ॠण लिएर भए पनि छोरोको बिहेमा कुनै कमी नगर्ने अठोट उनीहरूले लिए। केही ॠण गाउँमै लिए र त्यसले मात्र बिहे खर्च नपुग्ने देखेपछि दुईवटा वित्तीय संस्थाबाट गरी उनीहरूले थप १ लाख रुपैयाँ ॠण लिए। र, जेठो छोरो २० वर्षीय राजकुमार मरिकको गत वैशाख १ गते धूमधामका साथ बिहे गरे।

घरमा बुहारी भित्र्याउँदा मरिक र उनकी श्रीमती उर्मिला औधी खुसी भए। तर मरिकलाई के थाहा( त्यो बिहेका लागि लिएको ऋण ॠण नै एकदिन आफ्नो मृत्युको कारण बन्ने छ।

छोरोको बिहे भएको १ वर्ष पनि बित्न नपाउँदै मरिक गत मंगलबार मृत अवस्थामा भेटिए। छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसकेपछि तनावमा उनले मृत्युको बाटो रोजेको हुन सक्ने स्थानीय बताउँछन्।

गत सोमबार राति खाना खाएर सुतेका उनलाई मंगलबार बिहान घरकै छेउमा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखे। छोरोको बिहेका लागि उनले श्रीमती उर्मिलादेवीको नाममा २०७८ मंसिर १३ गते ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार र गाउँमै रहेको महुली लघुवित्त वित्तीय संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएका थिए। उनले जसोतसो दुवै वित्तीय संस्थाको किस्ता बुझाइरहेका थिए।

अहिले ग्लोबल आईएमईको ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज, महुली लघुवित्त वित्तीय संस्थाको ४ हजार ३ सय ३ रुपैयाँ तिर्न बाँकी छ। प्रत्येक महिनाको ९ गते उनलाइ किस्ता बुझाउनुपर्थ्यो।

गत सोमबार पनि मरिकलाइ किस्ता बुझाउनुपर्ने थियो तर उनकी श्रीमती उर्मिलादेवी समूहको बैठकमा त्यो दिन गइनन्। समूहको बैठकमा उर्मिला नपुगेपछि त्यो दिन संस्थाका कर्मचारी किस्ता लिन घरमै आइपुगेको छोरा राजकुमारले बताए। तर मरिकसँग पैसा नभएकाले आफू घरमा नरहेको सुनाइदिन भने। तर कर्मचारीहरूले मानेनन र मंगलबार जसरी पनि किस्ता बुझाउन चेतावनी दिएको राजकुमारको भनाइ छ।

कर्मचारीहरू घरबाट गएलगत्तै उनी किस्ता बुझाउन ॠणको खोजी गरेको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए। तर मरिकले त्यो दिन ॠण पाएनन्। वित्तीय संस्थाबाट लिएको ॠणको पैसा चुक्ता गर्न नसकेको तनावकै कारण उन्ले आत्महत्या गरेको हुन सक्ने पालिका अध्यक्ष चौधरीको आशंका छ। तर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। नेपाल खबरबाट ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १० : २४ बजे