४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ट्रम्पको फेसबुक र इन्स्टाग्राममा लगाइएको प्रतिबन्ध हट्यो



एजेन्सी । मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा लगाएको प्रतिबन्ध हटाउने भएको छ। ट्रम्पको अकाउन्टहरू ‘सस्पेन्ड’ भएको दुई वर्ष पुगेसँगै मेटाले यस्तो घोषणा गरेको हो।

‘आउँदो हप्ताहरूमा’ सस्पेन्सन सकिने मेटाले बताएको छ। एक विज्ञप्तिमा मेटाको ग्लोबल अफेयर्सका प्रमुख निक क्लेगले जनताले ‘आफ्ना राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न पाउनुपर्ने’ बताएका छन्।

सन् २०२१ मा क्यापिटोलमा भएको दंगापछि तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि ‘सस्पेन्ड’ गरिएको थियो।

क्यापिटोलको हिंसामा संलग्न व्यक्तिहरूको ट्रम्पले प्रशंसा गरेपछि मेटाले कारबाही गरेको क्लेगले बताए।

‘सस्पेन्सन असाधारण परिस्थितिमा लिइएको असाधारण निर्णय थियो,’ उनले थपे।

एक परीक्षणमा ट्रम्पको अकाउन्टले अब सार्वजनिक सुरक्षाको लागि गम्भीर जोखिमको प्रतिनिधित्व नगर्ने देखिएको उनले बताए। तर, ट्रम्पको विगतका उल्लंघनहरूको कारण गर्दा उनले अब दोहोरिने गल्तीहरूको लागि कडा सजायको सामना गर्ने बताइएको छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १० : १७ बजे