४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पछि हटे सिडिओ, भैरहवाको जेल रेस्टुरेन्ट भोलिदेखि खुल्ने



भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा रहेको जेल रेस्टुरेन्ट बन्द गर्ने निर्णयबाट पछि हटेको छ। आज बिहान प्रशासन कार्यालयले बोलाएर रेस्टुरेन्ट खोल्न अनुमति दिएको सञ्चालक दिपु जैसवालले जानकारी दिए।

गत सोमबार सिडिओसहितको अनुगमन टोलीले देवकोटा चोकमा रहेको उक्त रेस्टुरेन्ट बन्द गरिदिएको थियो। रेस्टुरेन्टको ढाँचा जेल जस्तो रहेको र त्यहाँ प्रयोग भएका सामग्री सुरक्षा निकायले प्रयोग गर्ने खालको रहेको र सोबारे अनुसन्धान गर्नुपर्ने भन्दै रेस्टुरेन्ट प्रशासनले रेस्टुरेन्ट बन्द गरिदिएको थियो।

तर प्रशासन कार्यालयले जिकिर गरेको ती रेस्टुरेन्टमा प्रयोग गरिएका सामग्री मात्र खेलौना रहेको र मनोरञ्जनका लागि प्रयोग गरिएको सञ्चालक जैसवाल बताउँछन्। उनले रेस्टुरेन्टमा प्रयोग गरिएको बन्दुक मेलाहरूमा बेलुनमा हान्ने खेलौना बन्दुक रहेको बताए।

तर रेस्टुरेन्टको नाम पनि परिवर्तन गर्न भनिएकोमा त्यसमा आफूहरू तयार नभएको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ)भरतमणि पाण्डेले पनि अब यो विषय घरेलु तथा साना उद्योगले हेर्ने जनाएका छन्।

अर्का पाण्डेले पनि आफू यसअघि फर्निचर व्यवसायमा रहेको तर अहिले भने पूरै समय रेस्टुरेन्टमा दिएको बताए।

जेल थिमका यी रेस्टुरेन्ट नेपालमा पहिलोपटक खोलिएपनि यस्ता खालका रेस्टुरेन्ट संसारभरि नै छन्। अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफिक्रादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुरेन्टहरू खुलिसकेका छन्।

भारतमा भने यस्ता रेस्टुरेन्टहरू धेरै ठाउँमा छन्। जैसवालले पनि आफूले भारतमै पहिलोपटक यस्तो रेस्टुरेन्ट देखेर नेपालमा भित्र्याएको बताउँछन्।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ११ बजे