४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अस्ताए ‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङ



बुटवल ।

‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन भएको छ। नवलपरासी पश्चिमको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गरिरहेका ६२ वर्षीय गुरुङको उपचारका क्रममा मंगलबार राति निधन भएको हो।

उनी मस्तिष्काघात भई झण्डै एक महिनादेखि भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थिए।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाशप्राप्त गुरुङ विसं २०५५ देखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लडिरहेका थिए।

विसं २०६२ देखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाऊँ अभियान’ नामको समिति गठन गरेर अतिक्रमणका विरुद्व लागेका थिए।

यस क्रममा भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको पनि थियो।

गोपाल गुरुङको नेतृत्वमा बनेको ‘सुस्ता बचाऊँ अभियान’ले पटक–पटक सुस्ताको नेपाली भूमि बचाउन सरकारसँग लिखित रुपमा सहयोग मागेको थियो। स्थायी सीमा नभएका कारण भारतले पटकपटक अतिक्रमण गरिरहेको सुस्तालगायत अन्य ठाउँमा स्थायी सीमा स्तम्भ राख्न गोपाल गुरुङले पहल गरिरहेका थिए।

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ३० बजे