४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेमकिपा र जनमोर्चाको दावी निरर्थक, काँग्रेसलाई प्रमुख विपक्षीको मान्यता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ गते विश्वासको मत दिएको नेपाली कांग्रेसलाई संसद सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको छ।

प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै कांग्रेसले गत पुस २९ गते निवेदन दिएको थियो। तर कांग्रेसलाई माघ ४ गतेको मितिमा संघीय संसद सचिवालयले उक्त मान्यता दिएको हो। प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे ५ माघमा निर्वाचित भएका थिए।

प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधा माग्दै कांग्रेसले पुस २९ मा सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको थियो।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि हैसियत गुमाएको आरोप लागिरहेका बेला कांग्रेसले उक्त निवेदनम आफूलाई प्रमुख विपक्षी दलका रुपमा प्रस्तुत गरेको थियो।

कांग्रेसको त्यही दाबीअनुसार संसद सचिवालयका उपसचिव रामहरि थापाले प्रमुख विपक्षीको मान्यता दिँदै त्यहीअनुसार सेवासुविधा पाउने पनि उल्लेख गरेका छन्।

प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च।नं। ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची(१ तथा अनुसूची(२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छु, थापाले कांग्रेसलाई लेखेको पत्रमा भनिएको छ।

तर सरकारलाई विश्वासको मत दिएपछि जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेमकिपा सांसद प्रेम सुवालले कांग्रेसले प्रमुख विपक्षीको हैसियत गुमाएकाले त्यसको मान्यता आफूहरुलाई दिन माग गरेका थिए।

दुवै दलले संसद सचिवालयमा त्यसका लागि निवेदन पनि दिएका थिए। सांसद सुवालले संवैधानिक रुपमा पनि सरकारलाई साथ दिएपछि अब कांग्रेसले प्रमुख विपक्षी भन्न नमिल्ने बताएका थिए।

के छ सुविधा ?
संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलका नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछन्। प्रमुख विपक्षी दलका नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत्त मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्ड घर, इन्धन सुविधा, मोबाइल, बिजुली, धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बीमालगायत सुविधा पाउँछन्।

विपक्षी दलका नेतालाई स्वकीय सचिव, कम्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालक दुई(दुई जना, सैनिक, प्रहरी जवान १० जना, विल्लादार गार्ड र अंगरक्षक एक(एक जना उपलब्ध हुन्छ। अर्कातिर अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटरसहितका सामान र दुईवटा साइकल पनि विपक्षी नेताले पाउँछन्।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : १४ बजे