४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुख्यमन्त्री गिरीको प्राथमिकतामा रोजगारमूलक शिक्षा र विकास



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र रोजगारमूले शिक्षाको विकास प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन् । रुपन्देहीको सियारीमा रहेको पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले विद्यालय तहबाट नै गुणस्तरीय र रोजगारमूलक शिक्षा दिन आवश्यक पहल थाल्ने बताए ।

उनले शैक्षिक बेरोजगार हटाउन र देशभित्रै स्वरोजगार बनाउन प्रदेशले आफ्नै प्राविधिक विश्वविद्यालय खोलेको समेत जानकारी दिए । ‘अबको शिक्षा स्वदेशमै रोजगार बन्ने र समृद्धि हासिल गर्ने खालको हुनुपर्छ । यसमा सचेत छौं,’ उनले भने ।

मुख्यमन्त्री गिरीले शैक्षिक क्षेत्रलाई समुन्नत बनाउन शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउने आफ्नो योजना रहेको बताए । प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउँदै दक्ष जनशक्ति र स्थानीयस्तरमा खपत हुने जनशक्ति उत्पादनका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने योजना बनाएको जानकारी दिए ।

मुख्यमन्त्री गिरीले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउँदै शिक्षकहरुलाई समेत विद्यालयको शैक्षिक गुणस्तर विकासमा ध्यान दिन आग्रह गरे । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मुख्यमन्त्री गिरीले स्वर्ण स्तम्भ, प्राविधिक भवन उद्घाटन गरेका थिए । विद्यालयले माघ १२ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव मनाउँदै छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ४१ बजे