२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सुपरमादीको आईपीओ खुल्दै, यस्तो छ कम्पनीको वित्तीय विवरण



काठमाडौँ । सुपरमादी हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो ।
आयोजनाले आफ्नो जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ ।

यसमध्ये, १० लाख ५० हजार कित्ता आईपीओ स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, २ लाख १० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएकाहरुलाई बिक्री गरिसकेको छ । यसका साथै, कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र ४२ हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरिसकेको छ ।

वैदेशिक रोजगारीमा गएका, स्थानीय, सामूहीक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी बसेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डमा कम्पनीले पेश गरेको विवरण पत्रअनुसार आयोजनाको प्रतिसेयर नेटवर्थ १०६.२६ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ छ भने हाल कम्पनीको सञ्चित मुनाफा ३१ करोड १५ लाख १० हजार रुपैयाँ छ ।
Laxmi bank

कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ । उक्त आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार लागत लाग्नेछ । र, यसको सञ्चालन अवधि ३० वर्षमध्ये २९ वर्ष ६ महिना बाँकी छ ।
यस कम्पनीमा लगानी गरेबापत लगानीकर्ताले आफ्नो लगानी फिर्ता पाउने अवधि कम्तिमा ६.२८ वर्ष लाग्ने छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : १३ बजे