२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

यसकारण नेपाली कम्पनीले किन्छन् पुरानो प्रविधिका जहाज



काठमाण्डौँ । नेपालका आन्तरिक उडान कम्पनीले अन्तर्राष्ट्रिय क्षेत्रमा फेजआउट भएका जहाज प्रयोग गरिरहेका छन्।

बुद्ध र यती एयरलाइन्सले चलाइरहेका जहाज एटीआर कम्पनीको ७२-५०० र ४२-३२० जहाज प्रविधिकै कारण अधिकांश मुलुकले उडान गर्न छाडेका छन्।

जहाज पुरानो हुँदैन तर प्रविधि नहुँदा सुरक्षाको जोखिम रहन्छ। त्यही भएर विदेशमा ती प्रतिस्थापन गर्दै नयाँ प्रविधिका जहाज प्रयोगमा छन्।

विदेशमा प्रतिस्थापन गरिएका जहाज सस्तोमा पाइन्छन्। त्यही भएर नेपालका हवाई कम्पनीले फेजआउट भएका जहाज ल्याउने गर्छन्। यी जहाज किन्न कम्पनीबीच तीव्र प्रतिस्पर्धा हुने गर्छ।

नयाँ एटीआर-७२-६०० जहाजको मूल्य ३ अर्ब रुपैयाँ हाराहारी पर्छ। फेजआउट भइसकेको एटीआर किन्दा ६५ देखि ७० करोड रुपैयाँ पर्छ। नयाँ संस्करणको जहाज महँगो पर्ने भएकाले यहाँका कम्पनीले फेजआउट भइसकेका जहाज किनेर ल्याउने गरेका छन्।

बुद्धले तीनवटा एटीआर-४२-३२० र ११ वटा एटीआर-७२-५०० गरी कुल १५ वटा एटीआरमार्फत सेवा दिँदै आएको छ भने यतीले चारवटा एटीआर-७२-५०० सिरिजको जहाजमार्फत उडान गरिरहेको छ। एटीआर-५०० जहाजहरु सन् १९९७ देखि २०११ सम्म उत्पादन भएको थियो। एटीआर-६०० भने सन् २००७ देखि अहिलेसम्म उत्पादन भइरहेको छ। भारतमा इन्डिगो एयरले पुरानो एटीआर हटाएर एटीआर ७२-६०० सिरिज सञ्चालनमा ल्याइसकेको छ भने बंगलादेशमा पनि नयाँ जहाज नै प्रयोग हुँदै आएको छ।

जहाज पुरानो नहुने भन्ने गरिए पनि उड्डयन उद्योग नयाँ प्रविधि केन्द्रित हुनुपर्ने बताउँदै एक हवाई विज्ञले भने,’समय अनुसार जहाजमा प्रयोग भएको प्रविधि अनुसार उडान सञ्चालन आवश्यक छ। जहाज पुरानो हुँदैन यो मान्य छ। यसलाई मानक बनाउने हो भने एभ्रो जहाज पनि मर्मत सम्भार गरेर उडान गर्न सकिन्थ्यो होला नि।’ सुरुमै ठूलो लगानी गर्न डराएका कम्पनीले मर्मत सम्भारमा भने महँगो मूल्य चुकाइरहेका छन्। पुरानो प्रविधिको जहाज इकोनोमिक साइकल अनुसार मर्मत गर्दा ठूलो पैसा तिर्नु भने पर्छ।

एटीआरका ७२-५०० र ६०० बीच के छ फरक?

एटीआर-७२-६०० सिरिजको जहाजमा ग्लास ककपिट हुन्छ। यो जहाजमा गतिको अवस्थामा आइपर्ने समस्याको संकेत स्वचालित आउन सक्छ। गति नियन्त्रणका लागि यो उपयुक्त मानिन्छ।

र, गति पनि स्वचालित हुन्छ। कुनै पनि आकस्मिक समस्या आउँदा डिस्प्लेमार्फत जानकारी दिन्छ। तर -५०० सिरिजमा यी कुरा म्यानुअल हुन्छ। जहाज उडानका क्रममा यो सिरिजको जहाजमा आइपर्ने समस्या आफैं पत्ता लगाउनुपर्ने विज्ञहरु बताउँछन्।

‘यसलाई गरिबीको पराकाष्ठा भन्नुपर्ला। सरकारी वायुसेवा संस्थाले एटीआर-७२-६०० सिरिजको जहाज खरिद गरेर संचालनमा नल्याएसम्म निजी कम्पनी सुध्रिँदैनन्। अहिले बंगलादेश, भारत लगायत विभिन्न मुलुकले एटीआर-७२-५०० उडान गर्न छाडिसकेका छन्। सबै एटीआर-७२-६०० मा विस्तार भइसकेका छन्,’ उनले भने,’यहाँ यात्रुसँग पैसा असुल्ने तर पुरानो प्रविधिको जहाज प्रयोग गरेर सुरक्षाको जोखिममा पार्ने काम निजी कम्पनीले गरिरहेका छन्।’

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : ५० बजे