४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सम्मुखमा १३ औँ कपिलवस्तु महोत्सवः करिब २ हजारले पाउने छन् ‘रोजगारी’



कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आउन अब केही दिन मात्र बाँकी छ ।

सक्षम व्यवसायी, समुन्नत राष्ट्र, आत्मनिर्भर अर्थतन्त्र भन्ने मूल नारा बोकेर बुद्ध रंगशाला जितपुरमा यही माघ १७ गतेदेखि २९ गतेसम्म संचालन हुने महोत्सवको अहिले तयारी तीव्र छ । संघका अध्यक्ष एवम् मेलाका संयोजक डोलकराम घिमिरेका अनुसार अहिले स्टल, स्टेज, गेट निर्माण लगायतका काम भइरहेको छ ।

उहाँका अनुसार स्टल निर्माण सम्पन्न भइसकेको छ भने स्टेज र गेट निर्माणको काम चलिरहेको छ । मनोरञ्जनतर्फ पनि बाल उद्यान, पिङ लगायतका निर्माणका काम भइरहेका छन् ।  बिभिन्न समिति उपसमिति बनाएर अहिले द्रुत गतिमा आयोजकले काम गरिरहेको छ ।

कपिलवस्तुमा लाग्ने मेला र महोत्सवहरुमध्ये जितपुरमा लाग्ने महोत्सव सबैभन्दा ठुलो र धेरै तयारीमा लाग्ने गर्दछ । १२ दिनसम्म लाग्ने मेला अवधिभर करिब २ हजार जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउँछन् ?

कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेलका अनुसार गत बर्षहरुम आयोजना हुने मेलाको आंकडालाई हिसाब गर्दा मेला अवधिर करिब एक हजार दुई सय जनाले प्रत्यक्ष रुपमा ज्यालादारीमै काम पाउँछन् भने अन्य अप्रत्यक्ष रुपमा जागिरमा जोडिन्छन् ।
यसपटक पनि मेलामा ३ सय बढी स्टल रहँदा ७ सय बढीले रोजगारी पाउनेछन् ।

बाल उद्यानमा करिब २ सय, होटल तथा रेष्टुरेन्टमा डेढ सय, सुरक्षा र पार्किङतर्फ करिब २ सय जना रोजगारीमा जोडिन सक्ने पौडेलले हाम्रो रोजगारीसंग बताए । यस्तै भान्सार र सरसफाई, सचिवालय, काउण्टर, मनोरंजनात्मक कार्यक्रम र स्टेज, प्रचारप्रसार लगायतमा सयौँ ब्यक्ति जोडिने उनको भनाई छ । यस्तै अरु बिभिन्न विभागमा पनि धेरै ब्यक्ति ज्यालादारीमै जोडिने पौडेलले दावी गरे ।

मुलुकमा बढ्दो आर्थिक मन्दीमा महोत्सवले करिब आधा महिना दिने यो अवसरले धेरैलाई राहत पुग्ने मेला संयोजक घिमिरेले बताए । मेलामा स्थानीय ब्यक्तिलाई नै काम गर्ने अवसर दिन प्राथमिकतामा राखेको छ । आयोजकको हक लाग्ने ठाउँमा पिपन्न र समस्यामा परेका ब्यक्तिलाई मेलाअवधिभर काम गर्ने अवसर दिइने उनको दावी छ ।

यसपटक मेलालाई आकर्षक बनाउनको लागि बिभिन्न प्रयास गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेश्मीले हाम्रो रोजगारीलाई बताए ।

उनका अनुसार यसपटक मेलाको मुख्य आकर्षणको रुपमा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी, ११ औँ डान्स आइडल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र बिभिन्न बाल उद्यान रहेका छन् । त्यसको साथमा बिभिन्न विषयमाथि छलफल र अन्तरक्रिया पनि रहने रेश्मीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : १८ बजे