२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

आज रोनाल्डो र मेस्सी भिड्दै, संसारभरका फुटवलप्रेमिको प्रतिक्षित खेल



काठमाडौं । सम्भवत अन्तिम पटक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आमने सामने हुदैछन् । मैत्रीपूर्ण खेलमा सहभागी हुन पेरिस सेन्ट जर्मेन [पीएसजी] साउदी अरेबियामा आएको छ । उसले अल नासिरमा अनुबन्ध भएका रोनाल्डो नेतृत्वको रियाद स्टार एघारसँग मैत्रीपूर्ण खेलमा उत्रदैछन् । अल नासिर त्यही क्लब हो, जहाँ कीर्तिमानी मुल्यमा रोनाल्डो दुई वर्षका लागि अनुबन्ध भएका छन् । यो खेलका लागि आज संसार भरका फुटवल पारखीहरुले प्रतिक्षा गरिरहेका छन् ।

पीएसजीविरुद्ध मैदान उत्रदै गर्दा रोनाल्डो सम्भवत अन्तिम पटक मेस्सीसँग आमने सामने हुनेछन् । किंग फद अन्तराष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

अल नासिरले आफ्नो क्लब सहित साउदी अरबको शीर्ष क्लबका ठुला खेलाडीलाई समावेश गरेर टिम बनाएको छ । जसको कप्तानी रोनाल्डोले गर्नेछन् । पीएसजीले टिमको बारेमा सार्वजनीक गरेको छैन । तर सामाजिक सञ्जालमा आएको तस्विर हेर्दा मेस्सी, केलियन एमबाप्पे र सर्जियो मैदान उत्रने संकेत गर्छ ।

रोनाल्डो साउदी अरबमा आएपछि मेस्सीसँग खेल्दै सिजनको सुरुवात गर्न लागेका हुन् । अल नारिसले पोचुर्गिज स्टारलाई कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको हो । विश्वकपबाट बाहिरिने बित्तिकै उनले अल नासिरको प्रस्तावलाई स्विकार गरेका हुन् । उनी गत डिसेम्बरमा म्यानचेस्टर युनाईटेड छाड्ने निर्णयमा पुगेका थिए । उनले युनाईटेडसँगको सम्झौता रद्ध गरेका थिए ।

नयाँ क्लबमा जनवरी २२ देखि सिजनको सुरुवात गर्नुअघि रोनाल्डो मेस्सीसँग मैत्रीपूर्ण खेलमा देखिन लागेका हुन् । मेस्सीविरुद्ध रोनाल्डोले रियाद स्टार एघार टिमको नेतृत्व गर्नेछन् ।

समकालिन फुटबलमा रोनाल्डो र मेस्सीलाई सबैभन्दा ठुला खेलाडी मानिन्छन् । यि दुई खेलाडीको प्रतिस्पर्धाले युरोपेली क्लब फुटबललाई नयाँ उचाई दिएको थियो । करियरको अन्तिम समयतिर रहेका दुवै खेलाडी अन्तिम पटक एक आपसमा भिड्न लागेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : १९ बजे