२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

भद्रगोल पार्किङमाथि ‘ठेला’ हटाउने वाणगंगाको निर्णय कति व्यावहारिक ?



चार नम्बर तौलिहवा रोडमा अस्तव्यस्त गरी सडकछेउमा राखिएका सवारी साधन

चन्द्रकान्त न्यौपाने । ३५ दिने सूचना निकालेर करिब २ महिना अघि कपिलवस्तुको बाणगंगा नगरपालिकाले लहडमा एउटा काँचो र अब्यावहारिक निर्णय गर्यो सडकपेटीका ‘ठेलागाडा’ हटाउने । यो निर्णय गर्नुको कारण थियो ठेलावालाले नगरलाई कर तिर्दैनन्, भाडामा पनि बस्दैनन् तर नगरलाई कर तिर्ने ब्यापारीको ब्यापारलाई अवरोध गरे । नगरपालिका श्रोतका अनुसार ब्यापारीको गुनासो अनुसार नै यो निर्णय गरिएको हो ।
नगरले दिएको अल्टिमेटमभित्र ठेला गाडा नहटाएको खण्डमा कारबाही गर्ने चेतावनी दिनसमेत नगरपालिका पछि परेन । नगरको यो निर्णयपछि केहीले समर्थन गरे भने आलोचना पनि उत्तिकै भए ।

विकास निर्माणमा माखो मार्न नसकेर पहिलो ५ बर्षे कार्यकाल खेर फालेको नगरले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन सम्पन्न भएर करिब १० महिना हुन लाग्दा पनि त्यस्तो जनहितको त्यस्तो उल्लेख्य काम गर्न नसकेको हुनाले काठमाण्डौँ महानगरपालिकाको सिको गरेर केवल लोकप्रियताको लागि यो निर्णय गरेको भनेर आलोचना भयो भने नगरको निर्णय ठिकै हो भन्ने पनि भए । तर नगरले दिएको ३५ दिने सूचनाको ‘म्याद’ गुज्रँदा पनि न ती ठेला हट्न सके, न उनीहरुमाथि नगरले कुनै कारबाही गर्न सकेको देखिन्छ, न अनुगमन  । यसपछि भने यस निर्णयमाथि तिनै ब्यापारी र सरोकारवालाले प्रश्न उठाउन थालेका छन् ।

कतिपयले त नगरमा आवश्यकता नै नभएको निर्णय गरेको भनेर नगर प्रमुख चक्रपाणी अर्यालको आलोचना पनि गरका छन् । हुन पनि नगरको भीँड हुने मुख्य बजार भनेको ‘चार नम्बर’ हो । त्यसपछि पिपरा, बनगाई, ओदारीका सडकपेटीमा थोरै संख्यामा मात्र त्यसरी ब्यापार गर्न ठेलाहरु राखेको देखिन्छ । ‘नगरले जुन भयले हाम्रो ‘रोजिरोटी’ खोस्ने खालको निर्णय गर्यो त्यस्तो खालको अवरोध भने आफूहरुले नगरेको’ चार नम्बरमा लामो समयदेखि चट्पट् बेच्दै आएका एक पुरुषले हाम्रो रोजगारीसंग भने ।

‘नगरपालिकाले यो निर्णय गर्न जरुरी थिएन अहिले । यो निर्णय काठमाण्डौँ, पोखरा, बुटवल, धनगढीमा ठिकै होला तर वाणगंगामा जरुरी छैन । केही काम नगरेको पालिकाले चर्चा कमाउन यस्तो निर्णय गरेको हो । हामीलाई हटाउन भन्दा यी सडकमा भद्रगोल राखिएको पार्किङ, यी मोटरसाइकल कार हटाउनु पर्यो’, उनले तौलिहवा रोडतर्फ हातको औलाले देखाउँदै भने ।

ती पुरुषले भनेझैँ ब्यापारीलाई अहिलेको तनाव ठेलावालाको भन्दा पसल अगाडी रोड र पेटीमा पार्किङ गरी ब्यापार अवरोध गर्ने गरी राखिएका सवारीको छ । चार नम्बरका सडकपेटीमा मात्रै दैनिक २ सय बढी सवारीहरु ( चार पाङ्ग्रे र दुई पाङ्ग्र्रे ) भद्रगोल अवस्थामा सडक पेटीमा अस्तव्यस्त तवरले नियमित रुपमा पार्किङ गरी राखिएका हुन्छन् । यसले गर्दा फराकिलो गराइएको बाटो पनि साँधुरो भएको छ भने दुर्घटनाको डर पनि उत्तिकै छ । अर्कोतर्फ यस खालको पार्किङले ब्यापारी पनि हैरानमा छन् । नगरले पार्किङ स्थल नतोक्दा बाध्य भएर सडकपेटीमा राख्नु परेको ब्यापारीहरु बताउँछन् ।

यदि यो निर्णय कडाइपूर्वक कार्यान्वयन गर्ने हो भने पहिला सवारीको पार्किङ ब्यवस्थित गरिनुपर्ने सरोकारवाला बताउँछन् । होइन भने यो निर्णय अब्यावहारिक र काँचो हुने विकास बुझ्नेहरुको भनाई छ   । उनीहरु थप्छन् कि ‘नगरले पार्किङ स्थल तोकमा व्यवसायी भाडा शुल्क तिरेर भए पनि आफ्ना सवारी राख्न बाध्य हुनुपर्छ । तर नगरले यसतर्फ कहिल्यै ध्यान दिन सकेन । त्यहीमाथि ग्राहकहरुले पसल अगाडी बाइक, कार रोकेर राख्दा निकै समस्या भएको छ ।’

लुम्बिनी प्रदेशमै तिलोत्तमा पछि सबैभन्दा बढी बसाईसराई हुने नगरपालिकामा पर्दछ वाणगंगा । यहाँको जनसंख्या पनि दिनप्रतिदिन बढ्दो छ । औषतमा यहाँ करिब डेढ लाख जनसंख्या छ । पसल व्यवसाय, बैङ्क वित्तिीय संस्था खुल्ने क्रम पनि उत्तिकै छ । बजारका एउटै घरमा सवारी हाँक्ने एकभन्दा धेरै छन् । त्यसैले पनि यहाँका मुख्य चोकमा यो समस्या विकराल हुँदै गइरहेको देखिन्छ ।

यस्तो जटिल समस्या चार नम्बरको तौलिहवा रोडमा देखिन थालिसकेको छ । तौलिहवा गेटदेखि मुनि रेडियो मायादेवीदेखि माथिको भागमा त सडकका दुई छेउ नै सवारीले भरिएका देखिन्छन् । यस्तै चार नम्बर चोकस्थित महेन्द्र राजमार्ग वारी वारी पनि यस्तै समस्या हुन थालेको छ । यसले गर्दा आवतजावतमा पनि धेरै समस्या भएको चालकहरु बताउँछन् । भद्रगोल पार्किङले नगरका सहरको सौन्दर्यता नष्ट गरेको कतिपयको भनाई छ ।

वाणगंगाका बुद्धिजिवी कमल अर्याल, तेजप्रसाद आचार्य, कमल भट्टराई लगायतले अब नगरले विकाससंगै पार्किङबारे नसोच्ने हो भने भोलि झन् धेरै समस्या आउने बताउँछन् । नगरपालिका नेतृत्वलाई उनीहरुको सुझाव छ ‘अब आजैबाट चारनम्बरमा एउटा अण्डरग्राण्ड पार्किङसहितको ठुलो भवन बनाउन बजेट छुट्याउनुपर्दछ ।’

यसबारे नगरपालिकाले भने सोँचेको पाइन्न । बिभिन्न समयमा यो विषय उठाउँदा नगरपालिकाको नेतृत्व भने सुनेको नसुनैझैँमा छ । यता ब्यापारी, ब्यवसायीको नेतृत्व गर्ने संस्था कपिलवस्तु उद्योग वाणिज्य संघले पनि यो विषयमा सोँच्न सकेका पाइँदैन ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : ५७ बजे