२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सपथ लिन तयारीमा रहन भनेर अन्तिममा अधिकारीमाथि ‘धोका’



काठमाण्डौँ । नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् । उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् ।

यससंगै कपिलवस्तुबाट चुनाव जितेका बलराम अधिकारी मन्त्री बन्ने सम्भावना सकिएको छ । सोमबारसम्म अधिकारीको मन्त्री बन्ने सम्भावना थियो । अधिकारी मन्त्री बन्ने हल्लाले हिजोदेखि नै केन्द्रदेखि स्थानीयस्तर मिडिया तातेका थिए । विशेष श्रोत भन्छ ‘अधिकारीलाई मन्त्री बनाउने भनेर सपथको लागि तयारी गर्न पनि भनिएको थियो । त्यसैअनुसार अधिकारी पनि दौरासुरुवाल तयार पारेर बसेका थिए । तर मंगलबार विहान उनको ठाउँमा मन्त्री बन्ने अरु नै आइसकेका रहेछन् । अन्तिममा अधिकारीलाई धोका भयो ।’

‘सपथ समारोह दिउँसो छ । त्यतिबेलासम्म राज्यमन्त्रीसम्म भए पनि आउँछ कि आशा गरेर बसेका छौँ’, उक्त श्रोत भन्छ । अन्तिममा कपिलवस्तुको भागमा परेको मन्त्रालय खोसिएपछि यस क्षेत्रका जनता र नेता पनि दुखि भएका छन् । के कारणले अधिकारीको नाम काटिएको हो त्यो भने थाहा नभएको नेताहरुले बताएका छन् । सरकारले मन्त्रालय थपेर फेरि मन्त्रालय पाएको खण्डमा अधिकारीको नाम आउन सक्ने आंकलन गरिएको छ ।

मन्त्री अधिकारीले पाउन सक्ने मन्त्रालयको रुपमा कृषि, भूमि सुधार या संस्कृति मन्त्रालय थियो । अधिकारी पूर्वमन्त्री एवम् माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवलाई भारी मतान्तरमा हराएर प्रतिनिधि सभा सदस्यमा चुनिएका थिए ।

एमालेमा अध्यक्ष केपी ओलीपछि भारी मतान्तरमा प्रतिस्पर्धीलाई हराउने अधिकारी दोश्रो सांसद हुन् । कपिलवस्तुबाट संघको मन्त्री बन्ने कसरतमा राष्ट्रिय सभा सदस्य विमला घिमिरे पनि थिइन् । अधिकारीले संघमा मन्त्रालयमा नपाए लुम्बिनी प्रदेशमा विष्णु पन्थी मन्त्री बन्ने सम्भावना बलियो भएको छ ।यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । बाँकी तीन मन्त्रीले पनि मन्त्रालय पाउन सकेका छैनन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : ३७ बजे