२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

नगरको नियमलाई उधिनेर वाणगंगामा निकासी करमा ‘दादागिरी’



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले लगाएको पशुजन्यवस्तुको निकासीमा ठेकेदार पक्षले लुट मच्चाएको पाइएको छ ।

चालु आवमा बाणगंगाले पशुजन्यवस्तुको नगर निकासी गर्दा कर लिने गरी लारी कन्सट्रक्सनलाई ठेक्का दिएको छ ।

रु। २१ लाखमा लारीले उक्त ठेक्का पाए पनि कानुन विपरित रकम असूली गरेको पाइएको हो । लारीले नगरबाट मात्र निकासी हुने पशुजन्यवस्तुमा कर संकलन गर्ने अख्तियारी पाएको छ । तर नगर भित्रबाट नभई अन्य जिल्लाबाट पशुजन्यवस्तु लिएर आउने सवारीबाट समेत ठेकेदार पक्षले कर उठाइरहेको छ ।

चालु आवको साउन महिना देखि यो धन्दा सुरु भएको हो । ठेकेदार पक्षले अवैधधन्दा गर्न थालेको ६ महिना हुँदा पनि नियामक निकाय बाणगंगा नगरपालिका मौन जस्तै बनेको गुनासो आएको छ ।

महेन्द्र राजमार्ग हुँदै प्यूठानबाट पशुजन्यवस्तु लिएर पूर्व जादै गरेका व्यवसायी जगत थापा ठेकेदारको फन्दामा परे । उनले तिर्नै नपर्ने कर बाणगंगामा आएर तिर्न बाध्य भए ।

ठेकेदार पक्षसंग थापाले यो विषयमा आफूले कर तिर्न नपर्ने बताए । तर थप बोले सामान नै जफत गर्ने धम्की ठेकेदारले दिए, उनले पत्रकार समक्ष भने, ‘डरले गर्दा केहीँ बोल्न सकेन्, कर तिर्न बाध्य भए ।’

ठेकेदार पक्षले नगर निकासीबाट प्रति सवारी १० रुपैयाँ मात्र लिन पाउँछ । नगरभित्र उत्पादन भै बाहिर निकासी हुने राँगा, गाई र भैसी आदिको निकासी कर प्रतिगोटा १० रुपैयाँ तोकिएको हो । तर लारी कन्सट्रक्सनले भने चार सय रुपैयाँसम्म असूली गरिरहेको छ ।

नगरले बनाएको मूल्यसूची ठेकेदार पक्षले कार्यालयमा राखेको छैन् । नेपाललाई पूर्व पश्चिम जाड्ने महेन्द्र राजमार्गमै यो ठगी धन्दा भइरहेको हो । प्राप्त प्रमाण अनुसार ठेकेदारले बाणगंगा बाहेक राजमार्ग हुँदै गुड्ने हरेक पशुजन्यवस्तु निकासीबाट कर उठाउने गरेको छ ।

एकातिर ठेकेदार पक्षले नगरले तोकेको मूल्य भन्दा सय गुणा बढी रकम असुली गरिरहेको छ भने अर्को तर्फ कार्यक्षेत्रबाट भन्दा अन्यत्रबाट पनि रकम असुली गरिरहेको छ । लुट माथि लुटको धन्दा बाणगंगा २ पिपरामा चलेको हो ।

ठेकेदार पक्षले गरिरहेको अवैध कर असूलीका विषयमा नगरले अनुगमननै गरेको छैन् । नाम नबताउने शर्तमा एक जना व्यापारीले भने, पटक पटक यो कुरा नगरमा बतायौं तर सुनुवाई नै भएन । ठेकेदार पक्षको डरले साँचो कुरा भन्न डराउनेस्थिति छ ।

ठेकेदारले असुली गर्ने स्थान नजिकै सशस्त्र प्रहरीको बेश क्याम्प छ । यस्तै इलाका प्रहरी कार्यालय पिपराको सिंगो कार्यालय छ । सुरक्षा स्रोतकै वरिपरि भइरहेको अवैधधन्दाले कानुनको बर्खिलाप गरेको देखिन्छ ।

सुरक्षा निकाय यस विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै तर्कदै आएको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षक दिपकबाबु केसीले ठेकेदारले गरेको गल्ती हेर्ने काम आफूहरुको नभएको बताए । ठेकेदारले नियम विपरित काम गरे कारबाही गर्ने निकाय नगरपालिका भएको बताए । नगरपालिकाले यस विषयमा सहयोग मागेकोखण्डमा आफूहरु संलग्न हुने नभए ठेकेदारको बील हेर्ने अधिकार आफूहरुलाई नभएको उनले बताए । ठेकेदारले असूली गरेको करका विषयमा आफूले पनि सूचना पाएको र यो विषय सम्बन्धित निकायलाई भनेको केसीले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भूसाल भने बाणगंगा नगर कार्यपालिकाले पारित गरेको करभन्दा बढी रकम असूली गर्न ठेकेदारले नपाउने बताए ।

‘यो विषयमा अनुगमन गरेका छौं । अब आइन्दा यस्तो नगर्ने चेतावनी दिएका थियौं, प्रमुख प्रशासकीय अधिकृत भूसालले भने, ठेकेदारले सम्झौता विपरित कुनै पनि रमक असूल गर्न पाउँदैन् ।’गत आइतबार लुम्बिनी दर्पण साप्ताहिकले यस विषयको समाचार प्रकाशन गरेको थियो ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ४७ बजे