२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

पाइलट केसीले भनेका थिए- ‘रनवे छोटो छ, डाँडाले पनि ‘डिस्टर्ब’ हुन्छ’



पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको हर्षमा थियो पोखरा। जनवरी १ देखि सञ्चालनमा आउने विमानस्थलको डेमो फ्लाइट गरेका थिए पाइलट कमल केसीले। पुसको ७ गते पोखरा आन्तरिक विमानस्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट उडाएका थिए कमलले। आइतबार दुर्घटनामा परेको जहाज सोही दिन कमलले उडाएका थिए।

डेमो फ्लाइट सफलतापूर्वक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै कमलले पोखराका डाँडाले बाधा पुर्‍याउने प्रतिक्रिया दिएका थिए।

उनले भनेका थिए – अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति डाँडाकाँडा हुँदैन। पोखरा वरपर डाँडाकाँडा छ। अरू एअरपोर्ट हेर्दा यहाँ अलिकति गाह्रो छ। रनवेको लम्बाइ यहाँको छोटो छ। यहाँको ८ हजार जति फिट छ। बाहिर १० हजार जति हुन्छ। वरपरको डाँडाले गर्दा डिस्टर्ब छ। अलिकति गाह्रो छ यहाँ।’

पोखराको उडान अरुभन्दा गाह्रो हुने बताएका कमल पोखराको सेती खोंचमा अस्ताएका छन्। आइतबार बिहान दुर्घटना भएको यती एअरलाइन्सको फ्लाइट उनै कमलले उडाएका थिए। दुर्घटनामा पर्नुअघि सोही विमानमा काठमाडौं(पोखराको सफल अवतरण गराएका थिए उनले। तर, अर्कोपटक कमलले सफल अवतरण गराउन सकेनन्। यतीको एटीआर ७२ विमान सेतीको खोंचमा खस्यो। ७२ जना रहेको विमान दुर्घटनाको समाचार पनि एकाएक फैलियो।

समाचारसँगै पोखरा रुपा गाउँपालिकामा रहेका कमलका बाबा र आमाको मन आत्तियो। दुर्घटनाबारे थाहा पाए पनि कमलका बाबु विरेन्द्र केसीको कामना थियो ‘छोरा सकुशल होस्।’ दुर्घटनामा परे पनि छोराको जीवितै उद्धार हुने आशमा थिए विरेन्द्र। तर, घटनास्थलको भयावह दृश्य देखेपछि उनको आश मर्‍यो।

उद्धारमा खटिएको टोली पनि शव निकाल्दै थिए। एम्बुलेन्सले घटनास्थलबाट शव पश्चिमान्चल अस्पताल लैजादै थियो। उनी पनि छोराको शव पहिचान गर्न अस्पताल पुगे। विरेन्द्र आफूलाई जसोतसो सम्हालिरहेका थिए। आमा मिनालाई सम्हाल्न गाह्रो थियो। अस्पतालमा बसेकी मिना समाल्न खोज्थिइन् आफूलाई। समालिन नसकेपछि भक्कानो छोड्थिइन। छोरालाई सम्झिँदै कराउँथिइन् ,’मेरो बाबू, मेरो छोरा।’

आमाबुबा रुपामा बस्ने भएपनि कमल आफ्नो परिवारसहित काठमाडौं बस्थे। पोखरा आउँदा बाबुलाई फोन गरिरहन्थे। पोखराबाट जोमसोम उडान गर्दा भने उनी घरमा आउँथे। पछिल्लो समय घरमा नपुगेका कमल पोखरा आउँदा बुबालाई फोनमा घर आउँछु भनिरहन्थे।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : २६ बजे