४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महेन्द्र राजमार्गको कालोपत्र परीक्षण



पूर्वी नवलपरासी । निर्माणाधीन बुटवल(नारायणगढ सडक खण्डको भेंडाबारीमा १ सय २० मिटर कालोपत्रे गरिएको छ । राजमार्ग ठेक्का लिएको ४२ महिनापछि चिनियाँ ठेकेदार कम्पनीले नारायणगढदेखि ११ किलोमिटर पश्चिम भेंडाबारीमा शुक्रबार पहिलो पटक कालोपत्रे सुरु गरेको हो ।

शुक्रबार करिब १ सय २० मिटर अलकत्रा हालेर पहिलो चरणको कालोपत्रे गरिएको इन्जिनियर राकेश झाले बताए । यो कालोपत्रे गरिएको सडक १० मिटरभन्दा बढी फराकिलो छ ।

राजमार्गको मेन ट्रयाकअन्तर्गत पहिलो पटक परीक्षणका रुपमा कालोपत्र सुरु भएको हो । भेंडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने छ ।

धमाधम पिच गर्ने लक्ष्य रहे पनि सरकारले जिल्लाभरिका क्रसर उद्योग बन्द गरिएका कारण मसिनो गिट्टी अभावमा काम रोकिने झाले बताए । ुदेशभरिका क्रसर उद्योग बन्द छन्, हामीलाई चाहिने मसिनो गिट्टी र बालुवाको अभावमा काम रोकिने अवस्था छ ।ु

क्रसर उद्योगबाट माल आउन सके आउँदो असारअगावै कम्तीमा १० किलोमिटर पक्की सडक फाइनल गरिने लक्ष्य रहेको उनले बताए । राजमार्गमा फिलिंगको काम भइरहँदा बन्द रहेका क्रसरका कारण काम अघि बढाउन अप्ठेरो परेको छ । ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न साइजको गिट्टी आवश्यक पर्छ ।

बुटवल(नारायणगढ सडकको १ सय १४ किलोमिटर राजमार्ग फराकिलो पार्न चाइनिज ठेकेदार कम्पनीले ४२ महिनाअघि ठेक्का लिएको हो । पुस मसान्तसम्म राजमार्ग फराकिलो पार्ने काम २३ प्रतिशत मात्र काम पूरा भएको इन्जिनियर झाले बताए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ६ : ५८ बजे