४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सको पोल्टामा



काठमाडौँ । लुम्बिनी अल स्टार्सले पहिलोपटक आयोजना गरिएको नेपाल टी२० लिगको उपाधि जितेको छ।
बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै नेपाल टी २० लिगको पहिलो संस्करणको उपाधि लुम्बिनी अल स्टार्सले उचालेको हो।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता विराटनगरले ३० लाख रुपैयाँ पाउनेछन्।

लिग चरणका ८ खेलमा जित र २ खेलमा हार भाग्दै क्वालिफायरमा स्थान बनाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइलनमा स्थान बनाएको थियो।

विराटनगरले पहिलो एलिमिनेटर खेलमा खेलमा काठमाडौ किंग्सलाई ९९ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा जनकपुरलाई ३९ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।

लिगमा लगातार तीन खेल खेलेको विराटनगरका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। विराटनगरका सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर अर्जुन साउद ३४ रनमा पवेलियन फर्के। ४० बलको सामना गरेका उनले १ चौका र २ छक्का हाने। पृथु बास्कोटा ३१ रनमा बोल्ड आउट भए। २९ बलको सामना गरेका पृथुले २ चौका र १ छक्का हाने। हुसैन तलात १३ रनमा रनआउट भए।

लुम्बिनीका हरमित र सागर ढकालले समान २ विकेट लिए। विपुल शर्मा र किशोर महतोले एक(एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी अल स्टार्स ४ बल अगावै १ सय ३३ रनमा अलआउट भयो।

लुम्बिनीका ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे। १८ बलमा ३ चौका र २ छक्का हानेका हरमित ३० रनमा क्याच आउट भए।

लाहिरु ४१ रनमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै फर्के। लाहिरुले २८ बलमा ३ चौका र ३ छक्का हाने।

कुशल भुर्तेल १ रनमा आउट भए। कप्तान दिपेन्द्र सिंह ऐरी २० र इसान पाण्डे १८ रनमा पवेलियन फर्के। विपुल शर्माले ५, गुल्सन झाले ३ तथा सेड्ली भानले १ रन थपे।

लुम्बिनीका ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

विराटनगरका नन्दन यादव र राज नन्दनले समान २ विकेट लिए। कियोन जोसेप, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ३७ बजे