४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणिज्य बैंकको संख्या ८ मा झर्छः पृथ्वीबहादुर पाँडे



काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नेपालमा वाणिज्य बैंकहरूको संख्या ८ मा झर्ने बताएका छन्। विभिन्न देशको उदाहरण दिँदै उनले दोस्रो चरणको कन्सुलुडेसन योजना अन्तर्गत मर्जर भएर संख्या ८ मा झर्ने बताए।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरपछि बुधबार एकीकृत कारोबार सुरु गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जति ठूलो बैंक उति बढी निक्षेप सुरक्षित हुने तर्क दिए। ‘टु बिग टु फेल’ भन्ने मान्यतासँग आफू सहमत नभएको भन्दै सेयरधनीको करिब ५७ अर्ब मासिएमा मात्र निक्षेपकर्ता असुरक्षित हुने उनले बताए।

‘जुन कुरा मासिन सम्भव छैन,’ उनले भने।

पाँडेले पछिल्ला दिनहरूमा बैंकको प्रतिफल घटिरहेको बताए। बैंकको नाफा अंकमा भन्दा सेयरधनी कोषसँग तुलना गरेर हेर्नुपर्ने तर्क उनले गरे। मर्जरपछि आफनो बैंक मर्चेन्ट बैंकिङमा नम्बर वान हुने विश्वास उनले व्यक्त गरे। मर्जरपछि एनआइबीएल एस क्यापिटलमा मेगा क्यापिटल पनि जोडिने छ।

इन्भेष्टमेन्ट बैंकले मेगालाई ९० रुपैयाँ प्रति १०० कित्ताका दरले गाभेको हो। अध्यक्ष इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे बनेका छन्। प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे तय छन्। बैंकिङ प्रणाली पनि इन्भेष्टमेन्ट बैंककै प्रयोग हुँदैछ।

मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ। बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यस्तै कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा माथि छ। ग्राहक संख्या ३० लाख पुगेको छ।

बैंकको संयुक्त निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ। यस्तै शाखा सञ्जाल २९६ वटा पुगेका छन्। एक्सटेन्सन काउन्टर ५९ वटा हुँदैछन्। अब बैंकको एटीएम संख्या २७९ पुगेको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १ : ४६ बजे