४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पब्जी विश्व च्याम्पियनसिपको फाइनल खेल्दै नेपालका दुई टिम



काठमाडौं । इस्पोर्टस्को मुख्य बिधा पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । विभिन्न चरण पार गरी फाइनलमा छनोट भएका १६ टिमबीचको प्रतिस्पर्धाबाट आइतबार नयाँ विश्व विजेताको टुंगो लाग्नेछ ।

१० नोभेम्बर २०२२ मा मलेसियाको क्वालालम्पुरमा सुरु भएको यो प्रतियोगितामा समूह चरण, सर्भाइभल चरण र लास्ट चान्समार्फत फाइनल चरणका लागि टिम छनोट गरिएको हो । फाइनल चरणका खेलहरु नेपाली समयअनुसार शुक्रबार साँझ पौने सात बजेदेखि सुरु हुनेछ ।

४० लाख अमेरिकी डलर कुल पुरस्कार राशी रहेको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपालका तीनसहित ५१ टिमको सहभागिता थियो । उनीहरु आआफ्नो महादेशीय छनोट पार गरेर विश्व च्याम्पियनसिप खेल्न आएका हुन् ।

१० देखि २७ नोभेम्बरसम्म सञ्चालित समूह चरणमा ४८ टिमलाई समावेश गरिएको थियो । उनीहरुलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहमा १६ टिम थिए । समूहमा शीर्ष ३ टिम सिधै फाइनलमा पुग्दा चौथोदेखि ११औं स्थानका टिमले सर्भाइभल चरण खेल्नुपर्ने भयो । बाँकी पाँच टिम समूहबाटै बाहिरिए ।

तीन समूहबाट ८–८ गरी २४ टिमबीच ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म सर्भाइभल चरणमा प्रतिस्पर्धा भयो । तीमध्ये शीर्ष १६ टिम लास्ट चान्सका लागि छनोट हुँदा पुछारका ८ टिम बाहिरिए ।

लास्ट चान्सको प्रतिस्पर्धा ३ र ४ डिसेम्बरमा आयोजित थियो । यो चरणमा १६ टिम समावेश थिए । उनीहरुमध्येबाट शीर्ष पाँच टिमलाई फाइनल चरणमा प्रवेश गराइएको हो । सबै चरणका खेल मलेसियामा आयोजित थिए ।

तीन समूहका शीर्ष तीन गरी ९ टिम, लास्ट चान्सबाट आएका ५ र सिधा फाइनलमा आमन्त्रित दुई गरी १६ टिमबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । चीनको वुल्भ्स इस्पोर्टस र इण्डोनेसियाको अल्टर इगो लिम्याक्सलाई सिधा फाइनलमा आमन्त्रण गरिएको हो । यी दुई टिम नै उपाधिको मुख्य दावेदारसमेत हुन् ।

नेपालबाट टीटूके र डीआरएस खेल्दै

नेपाली टिमले विश्व च्याम्पियनसिप खेलेको यो तेस्रोपल्ट हो । यसअघि दुई पटक डीआरएस टिम समूह चरणमा पुगे पनि त्यसबाट माथि उक्लन सकेको थिएन । तर, यसपल्ट डीआरएससहित टीटूके र स्काइलाइट्सले समूह चरण पार गरे । टीटूकेले समूहमा शीर्ष तीनभित्र रहेर सिधै फाइनलमा स्थान बनायो । स्काइ लाइट्ज सर्भाइभल चरणबाट अघि बढ्न सकेन ।

टीटूके र डीआरएस भने फाइनल चरण खेल्दैछन् । एल्लो समूहमा परेको टीटूके समूहमा तेस्रो हुँदै सिधै फाइनल स्पर्धाका लागि छनोट भएको हो । यो पबजीमा नेपालकै सबैभन्दा ठूलो सफलतासमेत हो । समूह चरणमा तेस्रो भएपछि उसले ८० हजार अमेरिकी डलर पुरस्कार पायो भने सहभागिता खर्चका रुपमा १० हजार अमेरिकी डलरसमेत पाएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : २९ बजे