२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रविको पार्टीमा मन्त्री बन्नेको हानथाप, सभापति रिझाउदै सांसदहरु



काठमाण्डौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बनाउन समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पनि पदलोलुप प्रवृत्ति हावी भएको छ । सात दलीय सत्ता गठबन्धनको तेस्रो शक्तिको रुपमा रहेको सो पार्टीमा मन्त्रीविस्तारको टुङ्गो नहुँदै मन्त्रीबन्नेहरुको आनथाप जारी छ ।

पहिलोपटक पार्टी गठन गरेको ६ महिनामै प्रत्यक्षतर्फ ७ र समानुपातिकबाट १३ सांसद चयन गर्न सफल रास्वपा सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनेर सरकारमा छन्।

सत्ता पक्षमा ७ दल भएकोले मन्त्रालयको भागवण्डा मिलिसकेको छैन।
‘अहिलेसम्मको सिनारियो हेर्दा हाम्रो पार्टीले अब दुईवटा मन्त्रालय मात्र पाउने देखिन्छ तर, मन्त्री बन्नेहरु मरिहत्ते गरेर लागेका छन्,’ती पदाधिकारीले भने, ‘केही नेताहरु आफ्ना मान्छेलाई मन्त्री बनाउन लागेको देखेको छु।’

रास्वपाले सम्बन्धित क्षेत्रको विज्ञलाई मन्त्री बनाउने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले बताए। त्यसअनुसार जुन मन्त्रालय पर्छ, त्यही क्षेत्र बुझेका सांसद मन्त्री बनाउने पहिलो प्राथमिकतामा पर्छन् । रास्वपाले स्वास्थ्य, शिक्षा, पर्यटन र शहरी विकास मन्त्रालयमा चासो राखेको छ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयमा डा. चन्दा कार्की र डा. तोशिमा कार्की दुबैको दाबी छ। तर, रास्वपाले ती मन्त्रालय पाउने टुंगो छैन।
मन्त्रीको लागि सभापतिलाई प्रभावित पार्न नेताहरु सक्रिय भएको एक जना नेताले बताए ।

‘हाम्रो पार्टीभित्र पनि अस्वस्थ प्रतिस्पर्धा देखिन थाल्यो, साथीहरु मन्त्रालय पाउने टुंगो नलाग्दै मन्त्री बनाउने होडबाजीमा लाग्नुभएको छ,’ अर्का पदाधिकारीले भने, ‘अहिले स्वास्थ्य मन्त्री बनाउन केहीले डा चन्दा कार्की र केहीले डा। तोशिमा कार्कीलाई अघि सार्नुभएको छ।’ सभापति लामिछानेलाई कन्भिन्स गर्न नेताहरु लागेको उनको भनाई छ । उनले यस्तो भइ नै रह्यो भने आफूहरु अरुभन्दा भिन्न पार्टी हुन नसक्ने बताए ।

सभापति लामिछानेलाई मन्त्रीहरुबारे निर्णय गर्न अधिकार दिइएको उपसभापति अर्यालले बताए। डा चन्दा समानुपातिक तर्फकी सांसद हुन् भने डा. तोशिमा ललितपुर क्षेत्र नम्बर ३ बाट जितेकी सांसद हुन्।

निकै फराकिलो मत अन्तरले जितेको, स्वास्थ्य क्षेत्रका समस्याका बारेमा बहस पैरवी गरेकैले रास्वपाले स्वास्थ्य मन्त्रालय पाए डा तोशिमालाई पठाउन केही पदाधिकारीले दबाब दिएका छन्।

को को छन् मन्त्रीका दाबेदार ?
रास्वपाबाट शिशिर खनाल, डा। डालाराम अर्याल, डा चन्दा कार्की, डा तोशिमा कार्की मन्त्री बन्ने सूचिमा छन्। तर, मन्त्रालय कति पाउने निश्चित छैन।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ३ : ३० बजे