२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

राम्रा मन्त्रालय दिए सरकारमा जाने जसपाको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।
मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने उसको निर्णय छ ।

बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।

चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । चुनावमा पार्टीका उम्मेदवारहरुविरुद्ध उम्मेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।

विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ५७ बजे