४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सुदूरपश्चिमको पहिलो बैठकः रेशम चौधरीलाई रिहा नगरे संसद चल्न दिन्नौँ



काठमाण्डौँ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरी लगायत कैदीबन्दी रिहाइको माग संसदमा चर्किएको छ।

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठकमै नागरिक उन्मुक्तिका सांसदले रेशम चौधरी लगायतको रिहाइको माग अघि सारेका छन्।सोमबार बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले टीकापुर घटनालाई राजनीतिक रुपले निराकरण गर्नु पर्ने माग गरेका छन्।

थारु समुदायको महान पर्व माघीसम्म कैदी रिहाइ नभए आगामी बैठक अवरुद्ध पार्ने समेत उनले चेतावनी दिएका छन्।वि।सं। २०७२ मा भएको टीकापुर घटनालाई सात वर्ष भइसक्दा पनि सरकारले निकास दिन नसकेको उनको आरोप छ।

‘आपराधिक होइन, राजनीतिक रुपले निराकरण गरिनुपर्छ, हालसम्म जननिर्वाचित माननीय रेशमलाल चौधरीज्यूलाई अन्यायपूर्वक अपराधी बनाएर डिल्लीबजारको कालकोठरीमा राखिएको छ,’ संसदमा उनले भने, ‘साथै धनगढीको कारागारमा पनि हाम्रै दाजुभाइहरु राखिनुभएको छ, उहाँहरुलाई निकास दिनुपर्छ।’

टीकापुर आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभएकाले यसलाई राजनीतिक मुद्दा बनाएर सरकारले निराकरण गर्नु पर्नेमा उनले जोड दिए। प्रदेश सांसदहरुलाई टिकापुर घटनामा मुछिएका ‘निर्दोष’ व्यक्तिलाई रिहाइको लागि आ–आफ्नो पार्टीमा लबिङ्ग गरिदिन समेत उनले आग्रह गरे।

‘नेपालको संविधान जारी हुँदै गर्दा भूगोललाई नयाँ संरचना ल्याउँदा आ–आफ्नो माग राख्दै विभिन्न क्षेत्रमा आन्दोलन भएका थिए, ती आन्दोलनका माग सरकारले राजनीतिक रुपले सम्बोधन गर्दै आएको थियो,’ उनले भने, ‘तर मात्रै टीकापुर सुनियोजित ढंगले एउटा पक्षलाई पेलेर अपराधी गराइएको छ ।’

नेपालको इतिहासमा राजनीतिक दलले विभिन्न कालखण्डमा राजनीतिक निकासका लागि आन्दोलन गरेको स्मरण गराउँदै उनले थारु समुदायमाथि राज्यले विभेद गरेको बताए।

‘म थारु समुदायबाट प्रतिनिधित्व गर्ने हुनाले हाम्रो निधारमा पनि अहिले कलंकको टीका लागेको छ, यो कदापी सह्य हुनसक्दैन,’ उनले भने, ‘नेपालको चौथो ठूलो जनसंख्या भएको समुदायलाई विभेद गरिएको छ, राज्यको कुनै पनि अंगमा समतामूलक समानुपातिक प्रतिनिधित्व गराइएको छैन।’

उनले टीकापुर घटनाका कैदीबन्दीलाई माघसम्म रिहा गर्न अल्मिेटमनै दिए। ‘माघमा थारुहरुको महान पर्व भएकाले यो चाडपर्वसम्म टीकापुर घटनाका राजबन्दीहरुलाई निकास दिइएन भने आउँदा अधिवेशनमा सदन अवरुद्ध गर्नेछौँ,’ उनले भने।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा ७ सांसदसहित सरकार बनाउन निर्णायक शक्तिक रुपमा रहेको छ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ३ : ३८ बजे